मीटरब्याज पीडितलाई निराश हुन नदिने गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध पारेपछि मीटरब्याजसम्बन्धी विधेयक पारित नहुँदा न्यायको आशमा रहेका पीडितहरु मर्कामा परेका छन् । देशभरका मीटरब्याज पीडितहरु काठमाडौंमा भएको आन्दोलनमा सहभागी हुन थालेपछि अध्यादेश ल्याएर समस्या समाधानको प्रयास थालेको सरकारले संसदमा प्रतिस्थापन विधेयक दर्ता

मीटरब्याज पीडितलाई निराश हुन नदिने गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध पारेपछि मीटरब्याजसम्बन्धी विधेयक पारित नहुँदा न्यायको आशमा रहेका पीडितहरु मर्कामा परेका छन् । देशभरका मीटरब्याज पीडितहरु काठमाडौंमा भएको आन्दोलनमा सहभागी हुन थालेपछि अध्यादेश ल्याएर समस्या समाधानको प्रयास थालेको सरकारले संसदमा प्रतिस्थापन विधेयक दर्ता गराएको थियो । मुलुकी संहितासम्बन्धी केही ऐनलाई संशोधन गर्न ल्याइएको उक्त विधेयक ६० दिनभित्र संसद्बाट पारित भइसक्नुथ्र्यो । विधेयक पारित गर्ने तयारीका साथ हिजो प्रतिनिधिसभामा कार्यसूची निर्धारण भएको पनि हो । तर, प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै एमालेसहितका प्रतिपक्षी दलहरुले संसदमा नाराबाजी गरेपछि विधेयक पारित हुन सकेन । सोही कारण मीटरब्याजसम्बन्धी समस्या समाधानको सरकारी प्रयास अलपत्र परेको छ । संसद अवरुद्ध पारेर प्रतिपक्षीहरुले विधेयक पारित गर्न रोकेकोमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दुःखेसो पोखेका छन । पीडितलाई न्याय दिलाउने अभियानलाई असफल पारिएको भन्दै उनले सामाजिक सञ्जालबाट दुःख व्यक्त गरेका हुन । ‘आज म धेरै आहात भएको छु । आज प्रतिनिधिसभाबाट मीटरब्याजसम्बन्धी विधेयक पारित हुनुपथ्र्यो । तर गरिएन । आजैदेखि यस सम्बन्धमा जारी गरिएको अध्यादेश निष्कृय भएको छ । यसबाट को पीडित जनताको पक्षमा छ र को विपक्षमा छ भन्ने स्पष्ट भएको छ’, उनले भने । गृहमन्त्री श्रेष्ठले पीडितलाई न्याय दिलाई छाड्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन।