अनुसन्धान र नवप्रवर्तनतिर गण्डकी विश्वविद्यालय

उक्त विश्वविद्यालयको अनुसन्धान, अन्वेषण तथा आविष्कार केन्द्रले राष्ट्रिय आविष्कार केन्द्रसँग मिलेर अनुसन्धान र नवप्रर्वतनका क्षेत्रमा काम गर्दै आएको छ । विश्वविद्यालय मातहतको उक्त केन्द्रले सुरुआती चरणमा कृषिजन्य यन्त्र र औजार बनाउन सुरु गरेको हो ।

अनुसन्धान र नवप्रवर्तनतिर गण्डकी विश्वविद्यालय
रामबहादुर थापा, गण्डकी । गण्डकी विश्वविद्यालय शिक्षणसँगै खोज, अन्वेषण र नवप्रर्वतनका गतिविधिमा केन्द्रित बनेको छ । स्रोतसाधनको सीमितताबीच स्थापनाको छोटो अवधिमै शैक्षिक कार्यक्रम सँगसँगै अनुसन्धान र आविष्कारमा विश्वविद्यालय सफलताउन्मुख देखिएको हो । उक्त विश्वविद्यालयको अनुसन्धान, अन्वेषण तथा आविष्कार केन्द्रले राष्ट्रिय आविष्कार केन्द्रसँग मिलेर अनुसन्धान र नवप्रर्वतनका क्षेत्रमा काम गर्दै आएको छ । विश्वविद्यालय मातहतको उक्त केन्द्रले सुरुआती चरणमा कृषिजन्य यन्त्र र औजार बनाउन सुरु गरेको हो । समुदायको आवश्यकतालाई लक्ष्य गरी आठवटा प्रविधियुक्त यन्त्र र बहुकार्यात्मक औजारहरु उत्पादन गरिएको केन्द्रका निर्देशक डा। राजकुमार थापाले जानकारी दिए । जसमा घाँस टुक्राउने, गोबर पेल्ने, कोदो टिप्ने, तरकारी/खानेकुरा सुकाउने (सोलार ड्रायर), दाउरा चिर्ने, अदुवा प्रशोधन गर्नेलगायत उपकरण र औजार छन् । पेट्रोलबाट चल्ने स्कुटरलाई विद्युतीय स्कुटरमा परिवर्तन गरी प्रयोगमा ल्याइएको निर्देशक थापाले बताए । कोदो रोप्ने र अदुवा छोड्याउने उपकरण निर्माणको चरणमा रहेको उनको भनाइ थियो । ‘ड्रोन’को प्रयोग गरेर बाँदर धपाउने प्रविधिको विकासका लागि केन्द्र अनुसन्धानमा जुटेको छ । विश्वविद्यालयका रजिष्टार डा. कैलाश तिमिल्सिनाले स्थानीय स्रोतसाधनको प्रयोग गरी वस्तुको उत्पादन तथा बजारीकरण गर्ने केन्द्रको उद्देश्य रहेको बताए । “हामी अनुसन्धानमै केन्द्रित छौँ, नमुना स्वरुप केही कृषि यन्त्रहरुको निर्माण भएको छ, परीक्षण पनि सफल भएको छ”, उनले भने,  “उत्पादनको बजारीकरणका विषयमा प्रदेश सरकारलगायत सम्बन्धित निकायहरुसँग समन्वय गरेर अगाडि बढ्छौँ ।” रजिष्टार डा. तिमिल्सिनाले पढेर आर्जन हुने सैद्धान्तिक ज्ञानलाई अनुसन्धान, अन्वेषण र आविष्कारसँग जोड्नुपर्ने बताए । समुदायमा आधारित जीवनपयोगी अनुसन्धान कार्यलाई विश्वविद्यालयले निरन्तर रुपमा अगाडि बढाउने उनले उल्लेख गरे । राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियर रितेश देवसहित विश्वविद्यालयका इन्जिनियर र प्राविधिकको टोली अनुसन्धान र निर्माणका काममा तल्लिन छन् । इन्जिनियर सागरराज पौडेलले केन्द्रले अहिले नै नयाँ आविष्कार गर्ने नभई भइरहेको प्रविधिमा नवीनता ल्याउन प्रयास गरिरहेको बताए । “प्रविधिको विकास अनुसार नवप्रर्वतनलाई जोड दिइरहेका छौँ, स्थानीय अनुकुलता र आवश्यकता के छ त्यो पनि हेर्नुपर्छ”, उनले भने, “हामीले निर्माण गरेका उपकरण बजार मूल्य भन्दा सस्तोमा बनेका छन्, उत्पादन बढाएर बजारीकरण गर्न सकियो भने किसानलाई ठूलो लाभ मिल्ने देखिन्छ ।” उक्त केन्द्रबाट कृषि, स्वास्थ्य, सूचना प्रविधि जस्ता विषयसँग सम्बन्धित आधुनिक उपकरण तथा औजारको विकास तथा उत्पादन गर्न सकिने इन्जिनियर पौडेलले बताए । विश्वविद्यालयका उपकुलपति प्रा।डा। नवराज देवकोटाले घरेलु कोदोको मदिरालाई ‘ब्राण्डिङ’ गर्न विश्वविद्यालयले थालेको अनुसन्धान कार्य पनि निरन्तर चलिरहेको बताए । उनले कोदोको मदिरा बनाउन प्रयोग हुने मर्चाको प्रयोगशाला परीक्षणको प्रतिवेदन आउन बाँकी रहेको बताए । प्रदेशका ११ वटै जिल्लाबाट रक्सी बनाउने विधिको अध्ययनसहित मर्चा सङ्कलन गरेर रासयनीक विश्लेषण गरिसकिएको उपकुलपति प्रा.डा. देवकोटाले बताए । “स्रोतको कमी भएन भने दुई/तीन वर्ष भित्रमा कोदोको मदिरालाई नयाँ पहिचानसहित ब्राण्डिङ गर्न सकिन्छ, त्यसका लागि राज्यले कानूनी बाटो फुकाइदिनुपर्छ”, उनले भने, “मदिरा जस्तो जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले अनुसन्धानमा समय बढी लाग्छ ।” गण्डकी प्रदेश सरकारलगायत यहाँका कतिपय स्थानीय तहले घरेलु मदिरालाई ‘ब्राण्डिङ’ गर्ने विषयलाई वार्षिक नीति तथा कार्यक्रममै समेटेका छन् । महँगो विदेशी मदिराको आयात घटाउन पनि स्थानीय मदिरालाई ‘ब्राण्डिङ’ गरेर बजारीकरण गर्नुपर्ने आवाज उठ्ने गरेको छ । विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले विश्वविद्यालयलाई छुट्टै पहिचान दिलाउन खोज, अनुसन्धान र आविष्कारमा जोड दिइएको बताए । उनले विश्वविद्यालय शिक्षालाई अभ्यास र प्रयोगात्मक बनाउनुपर्ने उल्लेख गरे । “कोदोको घरेलु मदिरालगायत केही महत्वपूर्ण अनुसन्धानका काम अघि बढेका छन्, स्नातकोत्तर तहमा आर्टिफिसियल इन्टिलीजेन्स र मेकानिकल इन्जिनियरिङ सुरु गर्ने तयारीमा छौँ”, उनले भने,  “माइनिङ इन्जिनियरङ विषयको पढाइका लागि काठमाडौँ विश्वविद्यालयसँग सहकार्य अगाडि बढेको छ ।” कुलपति प्रा।डा। गुरुङले व्यवहारिक र गुणस्तरीय शिक्षामा आफूहरुको जोड रहेको बताए । विश्वविद्यालयले विभिन्न कारणले पढाइलाई निरन्तरता दिन नसकेका व्यक्तिलाई तालिम र सीपका आधारमा आविष्कारका काममा सहयोग पु¥याउँदै आएको छ । विसं गण्डकी प्रदेश सरकारद्वारा विसं २०७६ मा स्थापित उक्त विश्वविद्यालयमा हाल व्यवस्थापन, सूचना प्रविधि, कानून, औषधि विज्ञान र खेलकुद गरी स्नातक तहका पाँच कार्यक्रम सञ्चालित छन् । विश्वविद्यालयमा अहिले तीन सय ११ विद्यार्थी अध्ययनरत छन् । पोखरा महानगरपालिका–३२ मा रहेको गण्डकी विश्वविद्यालय प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो विश्वविद्यालय हो ।