मारुती सिमेन्टका प्रबन्धक पक्राउ, सञ्चालकसहित ७ जना फरार

सोही मुद्दामा पक्राउ पुर्जी जारी भएका मारुती सिमेन्ट उद्योगका सञ्चालक नन्दकिशोर राठी र उनका छोरा उद्योगका प्रबन्ध निर्देशक अनुज राठीसहित ७ जना फरार छन् ।

मारुती सिमेन्टका प्रबन्धक पक्राउ, सञ्चालकसहित ७ जना फरार
काठमाडौं । आपराधिक विश्वासघात मुद्दामा मारुती सिमेन्ट उद्योगका व्यापार प्रबन्धक ज्योति जोशीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सोही मुद्दामा पक्राउ पुर्जी जारी भएका मारुती सिमेन्ट उद्योगका सञ्चालक नन्दकिशोर राठी र उनका छोरा उद्योगका प्रबन्ध निर्देशक अनुज राठीसहित ७ जना फरार छन् । राजविराज–४ का दिवाकर साहले दिएको जाहेरीका आधारमा जिल्ला अदालत सप्तरीबाट पक्राउ पुर्जी जारी भई मारुती सिमेन्टका व्यापार प्रबन्धक ज्योति जोशीलाई तीन दिनअघि नियन्त्रणमा लिएको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए । प्रहरीले बुधबार नै पाँच दिनको म्याद थप गराई उनीमाथि अनुसन्धान गरिरहेको जनाएको छ । राजविराज–४ का दिवाकर साहले आफ्नो घर निर्माणका क्रममा मारुती सिमेन्टको प्रयोग गरेको र सो सिमेन्ट प्रयोग गरी घर बनाउँदा भर्‍याङ लडेपछि सिमेन्ट गुणस्तरहीन भएको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय सप्तरीमा ठगी (आपराधिक विश्वासघात ) मुद्दामा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा पक्राउ पुर्जी जारी भई जोशीलाई विराटनगरबाट पक्राउ गरी सप्तरी लगिएको छ ।