काठमाडौं। सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठकमा आज (बुधबार) बजेट पारितका लागि प्रस्ताव पेश हुँदैछ । बिहान ११ बजे बोलाइएको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले जेठ १५ गते आगामी आर्थिक वर्ष २०८०–०८१ का प्रस्तुत गरेको बजेट पारितका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । अर्थमन्त्री महतले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब रुपियाँको बजेट विनियोज गरेका थिए ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवम् उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथिको छलफलको क्रममा उठेका प्रश्नहहरुको जवाफ दिने छन्।
त्यसपछि अर्थ मन्त्री महतले “विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै उनले “आर्थिक विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव, “आर्थिक विधेयक, २०८०” माथि दफावार छलफलको लागि दिन तोकिने र “राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यता सत्तारुढ दलहरुले आर्थिक वर्ष २०८०–०८१ को बजेटको पक्षमा मतदान गर्न आआफ्ना सांंसदहरुलाई ह्विप जारी गरिसकेको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका सत्तारुढ दलहरुले विनियोजन विधेयक निर्णायार्थ प्रस्तुत हुने दिने अनिर्वाय उपस्थित हुने, पक्षमा मतदान गर्न र तटस्थ नहरन ह्विप लगाएका छन् ।

