अभद्र व्यवहार गर्ने १२ जना नगर प्रहरी कारबाहीमा

सर्वसाधारणप्रति अभद्र तथा अपमानजनक व्यवहार गर्ने काठमाडौं महानगरका १२ जना नगर प्रहरी कारबाहीमा परेका छन् । सर्वसाधारणका घरघरमा गएर सामान खोस्ने, फलफूल तरकारीका क्रेटमा बुट बजार्ने, व्यापारीलाई अपराधीजस्तै व्यवहार गरेको भन्दै महानगरले उनीहरूलाई कारबाही गरेको हो ।

अभद्र व्यवहार गर्ने १२ जना नगर प्रहरी कारबाहीमा
काठमाडौं । सर्वसाधारणप्रति अभद्र तथा अपमानजनक व्यवहार गर्ने काठमाडौं महानगरका १२ जना नगर प्रहरी कारबाहीमा परेका छन् । सर्वसाधारणका घरघरमा गएर सामान खोस्ने, फलफूल तरकारीका क्रेटमा बुट बजार्ने, व्यापारीलाई अपराधीजस्तै व्यवहार गरेको भन्दै महानगरले उनीहरूलाई कारबाही गरेको हो । फुटपाथ तथा सडकपेटीका व्यापार तथा सामान राखेर अवरोध गरेकाहरूलाई नगर प्रहरीले अपमानजनक व्यवहार गरेकोमा कारबाही गरिएको हो । महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले नगर प्रहरीले असहज व्यवहार गरेको भेट्टाएपछि कारबाही भएको बताए । ‘नगर प्रहरीले जथाभावी बोल्न र व्यवहार गर्न पाउँदैनन्, हामीले १२ जनालाई कारबाही गरेका छौँ,’ उनले भने, ‘यदि नगर प्रहरीले अपमान र अमानवीय व्यवहार गरेको छ भने हामीलाई खबर गर्नुहोला ।’ उनले नगर प्रहरीलाई सरुवा गरेर, सुविधा कटौती गरेर, धेरै समय ड्युटीमा लगाएर कारबाही गरिएको बताए । जडीबुटीस्थित नगरफाँटमा बुधबार नगर प्रहरी भित्री गल्लीमा पुगेर ठेलागाडा जफत गरेको थियो । स्थानीयले सूचना दिएपछि मात्रै नगर प्रहरी गएको र ठेलागाडा जफत गरी टेकुमा ल्याएर राखेको जनाइएको छ । घर तथा निजी ठाउँमा राखेको ठेलागाडा उठाएको भन्दै नगर प्रहरीको सर्वत्र विरोध भएको थियो । तर, नगर प्रहरी प्रमुख पाण्डेले स्थानीयवासीले खबर गरेपछि मात्रै ठेलागाडा जफत गरेको बताए । ‘नगर प्रहरी त्यहाँ पुगेपछि उनीहरूले ठेला भित्र लगेका थिए, त्यसअघि सडकमै डुलाइरहेको देखेपछि स्थानीयले खबर गरेका थिए,’ उनले भने, ‘त्यसपछि हामीले जफत गरेका हौँ ।’