देवकुमार नेपाली फरार हुनुअघि घरजग्गा आफन्तको नाममा पास !

नेपाली दम्पत्तिको नाममा रहेको बुर्तिबाङ बजार तथा आसपासमा रहेका १३ कित्ता जग्गा मेयर नेपालीको भजिति र निज श्रीमती छेला नेपालीको भाउजूको नाममा पास भएको पाइएको छ ।

देवकुमार नेपाली फरार हुनुअघि घरजग्गा आफन्तको नाममा पास !
काठमाडौं । ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली फरार हुनु अगाडि आफ्नो र श्रीमतीको नाममा भएको घरजग्गा आफन्तको नाममा पास गरेको पाइएको छ । नेपाली दम्पत्ति फरार हुनुभन्दा अघि आफ्नो नाममा भएको घर जग्गा आफ्न्तको नाममा पास गरेर फरार भएको पाइएको हो । नेपाली दम्पत्तिको नाममा रहेको बुर्तिबाङ बजार तथा आसपासमा रहेका १३ कित्ता जग्गा मेयर नेपालीको भजिति र श्रीमती छेला नेपालीको भाउजूको नाममा पास भएको पाइएको छ । १३ कित्ता जग्गा गत वैशाख अन्तिम साता पास गराएर मेयर नेपाली जेठ ५ गतेदेखि फरार भएका हुन् । त्यस्तै, सोमबार, गल्कोट र बुर्तिबाङमा रहेका इमेज सहकारी पीडितहरुले माया नेपालीको नाममा पास भएको ३ कित्ता जग्गा फिर्ता गराएका छन् । संघर्ष समिति बुर्तिबाङका संयोजक यमबहादुर कुँवरका अनुसार पीडितको नाममा जग्गा पास लिइएको र अन्य कित्ता समेत क्रमशः पीडितको नाममा पास गर्ने गरि प्रक्रिया अगाडी बढाइएको छ । १३ कित्तामध्ये मेयर नेपाली बस्दै आएको भक्तपुरे घर सहित ५ वटा कित्ता मेयर नेपालीकी श्रीमती छेला नेपालीको भाउजु कमला गिरीको नाममा वैशाख २७ गते पास गरेर फरार भएको संघर्ष समितिका संयोजक कुँवरको भनाइ छ । त्यस्तै, देवकुमार नेपालीले भजितीहरु देवी नेपालीको नाममा ५ कित्ता, माया नेपालीको नाममा ३ कित्ता पास दिएका छन् । उक्त कित्ता भएका सवै जग्गा मेयर नेपाली र उनकी श्रीमती छेलाले बैशाख २७ गते पास दिएको मालपोत कार्यालय बुर्तिबाङका प्रमुख सुर्यप्रसाद शर्माले जानकारी दिए ।