अमेरिकाविरुद्ध करणको घातक बलिङ, ७ रन दिँदा लिए ४ विकेट

जिम्बाब्वेमा एकदिवसीय विश्वकप छनोटअन्तर्गत अमेरिकाविरुद्ध नेपालले सानदार बलिङ सुरुवात गरेको छ । नेपाललाई उत्कृष्ट सुरुवात दिलाउनेक्रममा तीव्र गतिका बलर करण केसीले घातक बलिङ गरेका छन् ।

अमेरिकाविरुद्ध करणको घातक बलिङ, ७ रन दिँदा लिए ४ विकेट
काठमाडौं । जिम्बाब्वेमा एकदिवसीय विश्वकप छनोटअन्तर्गत अमेरिकाविरुद्ध नेपालले सानदार बलिङ सुरुवात गरेको छ । नेपाललाई उत्कृष्ट सुरुवात दिलाउनेक्रममा तीव्र गतिका बलर करण केसीले घातक बलिङ गरेका छन् । उनले १० ओभरको खेल सकिँदा अमेरिकाको महत्वपूर्ण ३ विकेट लिइसकेका छन् । करणले दोस्रो ओभरको पाँचौं बलमा आक्रामक ब्याटर स्टिभन टेलरलाई ४ रनमा एल्बीडब्लू धरापमा पा र्दै नेपाललाई ब्रेकथ्रू दिलाएका थिए । उनले यही ओभरको अन्तिम बलमा साइतेजा मुक्कामल्लालाई शून्यमै पवेलियनको बाटो देखाए । यस्तै, करणले नै ७.५ ओभरमा कप्तान आरोन जोन्सलाई २ रनमा आउट गरे । उनले ९.२ ओभरमा नोस्टुश केन्जिगेलाई आरिफ शेखको हातबाट १ रनमा क्याच गराए । पहिलो खेलमा जिम्बाब्वेविरुद्ध लयमा नदेखिएका उनले आज भने सानदार बलिङ गरिरहेका छन् । उनले ५ ओभर बलिङ गर्दा २ मेडनसहित ७ रन दिएर ३ विकेट लिइसकेका छन् । ताकशिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले १० ओभरमा ४ विकेट गुमाएर १९ रन बनाएको छ । नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । चोटका कारण सोमपाल कामीले खेल गुमाउने भएपछि नेपालले अमेरिकाविरुद्ध ललितनारायण राजवंशीलाई मौका दिएको छ । सोमपाल जिम्बाब्वेसँगको खेलमा घाइते भएका थिए । उनको औँलामा चोट लागेको छ । प्रतियोगितामा नेपाल र अमेरिका दुवै टिम पहिलो जितको खोजीमा छन् । नेपाल पहिलो खेलमा जिम्बाब्वेसँग ८ विकेटले पराजित भएको थियो । पहिलो खेलमा ब्याटिङमा राम्रो गरेको नेपालले बलिङमा भने सन्तोषजनक प्रदर्शन गर्न सकेन । नेपाल पहिलो खेलको फराकिलो हार बिर्सिँदै अमेरिकाविरुद्ध जित निकाल्ने सोचमा छ । सुपर सिक्सको सम्भावना जीवितै राख्न अमेरिकाविरुद्धको खेल नेपालका लागि महत्वपूर्ण छ ।