बाढी पहिरो अपडेट : देशभरि ६ को मृत्यु, ६ घाइते र २९ जना बेपत्ता

बाढी तथा पहिरोमा सङ्खुवासभामा एकजना, ताप्लेजुङमा तीनजना, पाँचथरमा एकजना र नुवाकोटमा एकजना गरी जम्मा ६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। मृतकमध्ये पाँचजना पुरुष र एकजना बालिका रहेका छन्।

बाढी पहिरो अपडेट : देशभरि ६ को मृत्यु, ६ घाइते र २९ जना बेपत्ता
काठमाडौं । अविरल वर्षाको कारण जेठ ३१ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी एवं पहिरोबाट सोमबार अपराह्नसम्म ६ जनाको मृत्यु भएको छ। बाढी तथा पहिरोमा सङ्खुवासभामा एकजना, ताप्लेजुङमा तीनजना, पाँचथरमा एकजना र नुवाकोटमा एकजना गरी जम्मा ६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। मृतकमध्ये पाँचजना पुरुष र एकजना बालिका रहेका छन्। साथै बाढी एवं पहिरोबाट सङ्खुवासभामा तीन, ताप्लेजुङमा दुई र पाँचथरमा एक गरी जम्मा ६ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ। बाढी पहिरोमा सङ्खुवासभामा २१, ताप्लेजुङमा तीन र पाँचथरमा पाँचजना गरी जम्मा २९ जना बेपत्ता अझै बेपत्ता भएका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर बडायतले बताए। बेपत्ताको खोजी जारी रहेको पनि उनले बताए। बाढी एवं पहिरोबाट ३५ घर, १० गोठ, १३ पुल, ५ उद्योग र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ६७ वटा पशुचौपायाको मृत्यु भएको छ। विपद्का घटनाबाट ९७ घरपरिवार विस्थापित भएका छन्। बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोधसमेत प्रहरीले हटाइरहेको छ।