धनगढी । घरायसी विवादमा मेलमिलापपछि कैलालीमा ससुराले बुहारीको हत्या गरेको खुलेको छ । गौरीगंगा नगरपालिका–१ गोप्काका ५२ वर्षीय डिल्लीसिंह बुढाले २७ वर्षीया बुहारी कौशी भन्ने कविता बुढाको हत्या गरेको प्रहरी अनुसन्धानले पुष्टि गरेको हो । बुहारीको हत्यामा ५० वर्षीया सासु लहरीको पनि संलग्नता रहेको पाइएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बुहारी कवितासँग सासुससुराको झैझगडा भइरहन्थ्यो । घटना पूर्व घरायसी झैझगडाको विषयमा उनीहरुले इलाका प्रहरी कार्यालय चौमालामा मेलमिलापसमेत गरेका थिए । तर जेठ १८ गते फेरि घरायसी विवाद भएपछि ससुरा डिल्लीसिंहले बुहारीको हत्या गरेको हुनसक्ने प्रहरी अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले डिल्लीसिंहले साँझ खाना पकाइरहेकी बुहारीको टाउकोमा पछाडिबाट काठको चिरपट प्रहार गर्दा बुहारीको मृत्यु भएको जानकारी दिए । उनका अनुसार घरको काम नगर्ने, आफूखुशी गर्ने भनेर डिल्लीसिंहले निहुँ खोज्दै बुहारीसँग विवाद गरेका थिए ।
चिरपट प्रहारबाट मृत्यु भएको बुहारीको शव श्रीमती लहरीसँग मिलेर घरभन्दा करिब तीन किलोमिटर केदारेश्वर सामुदायिक वनस्थित सुख्खा नालामा खाल्डो खनेर डिल्लीसिंहले पुरेका थिए । उनीहरुले डोकोमा बोकेर लाश लगेका थिए भने शवसँगै रगत लागेको कपडा, फरुवा, डोको खाल्डोमै पुरेका थिए ।
त्यसपछि डिल्लीसिंहले घटना ढाकछोप गर्न बुहारी हराएको नाटक गरेका थिए । उनले घटनाको भोलिपल्ट जेठ १९ गते बुहारी हराएको भन्दै इलाका प्रहरी कार्यालय चौमाला निवेदनसमेत दिए । यद्यपि निवेदन दिए पश्चात आठ वर्षको नाती डण्डीराजसहित उनी आफैँ सम्पर्कविहीन भएपछि प्रहरीको अनुसन्धान डिल्लीसिंहतिरै मोडिएको थियो । साथै, मृतकका भाई पराने बुढाले घटना शङ्कास्पद रहेको भन्दै प्रहरी कार्यालयमा निवेदन पनि दिएका थिए ।
कविताको हत्यामा ससुरा डिल्लीसिंह, सासु लहरीको संलग्नता रहेको प्रारम्भिक चरणबाट देखिन आएको प्रहरीले जनाएको छ । घटनामा संलग्नताको आरोपमा प्रहरीले मृतकका सासुससुरासहित तीन जनालाई पक्राउ गरेको छ ।
जेठ २३ गते मृतकका दाजु रामबहादुर बुढाले किटानी जाहेरी गरेपछि प्रहरीले लहरीलाई पक्राउ गरेको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कैलालीको भजनी नगरपालिका–४ का ४१ वर्षीय जयवीर बुढा, मुख्य अभियुक्त डिल्लीसिंह र सासु लहरीलाई पक्राउ गरेको छ ।
मृतकका श्रीमान अर्जुन भने कान्छी श्रीमतीलाई साथमा लिएर विगत एक वर्षदेखि भारतको बेङ्लोरमा बस्दै आएको प्रहरीले जनाएको छ ।
घरायसी विवादमा बुहारीको हत्या
घरायसी विवादमा मेलमिलापपछि कैलालीमा ससुराले बुहारीको हत्या गरेको खुलेको छ । गौरीगंगा नगरपालिका–१ गोप्काका ५२ वर्षीय डिल्लीसिंह बुढाले २७ वर्षीया बुहारी कौशी भन्ने कविता बुढाको हत्या गरेको प्रहरी अनुसन्धानले पुष्टि गरेको हो । बुहारीको हत्यामा ५० वर्षीया सासु लहरीको पनि संलग्नता रहेको पाइएको प्रहरीको

