एमालेका नेताहरूको जिम्मेवारी हेरफेर, कसलाई के-को जिम्मेवारी ?

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पार्टीका ३३ वटा विभागको ग्रुपिङ गरिएको छ र विषयमिल्दो विभागहरुको संयोजन गर्ने जिम्मेवारी दिइएको छ ।

एमालेका नेताहरूको जिम्मेवारी हेरफेर, कसलाई के-को जिम्मेवारी ?
काठमाडौं । नेकपा एमालेले पार्टी पदाधिकारी र केन्द्रीय सदस्यको जिम्मेवारी हेरफेर गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले उपाध्यक्षहरुलाई विभागको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ भने केन्द्रीय सचिवहरुलाई भने प्रदेश इन्चार्ज तोकिएको छ । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पार्टीका ३३ वटा विभागको ग्रुपिङ गरिएको छ र विषयमिल्दो विभागहरुको संयोजन गर्ने जिम्मेवारी दिइएको छ । योजना तथा नीतिसम्बन्धी विभागको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नेछन् भने पूर्वाधार र विकास निर्माणसम्बन्धी विभागको नेतृत्व उपाध्यक्ष सुरेन्द्र पाण्डे, कृषि तथा उद्यमशीलतासम्बन्धी विभागको नेतृत्व रामबहादुर थापा बादल र सामाजिक विकाससम्बन्धी विभागको नेतृत्व अष्टलक्ष्मी शाक्यले गर्ने छिन् । यस्तै मानव स्रोतसम्बन्धी विभागको नेतृत्व उपाध्यक्ष युवराज ज्ञवाली, सुशासन र सेवा प्रवाहसम्बन्धी विभागको नेतृत्व सुवास नेम्वाङ र संगठन प्रशिक्षण र प्रचारसम्बन्धी विभागको नेतृत्व उपाध्यक्ष विष्णु पौडेल तोकिएका छन् । केन्द्रीय सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी सुदुरपश्चिम : छविलाल विश्वकर्मा कर्णाली : लेखराज भट्ट लुम्बिनी : पद्मा अर्याल गण्डकी :  गोकर्ण भट्ट मधेश: योगेश भट्टराई कोशी:  रघुवीर महासेठ बागमती संयोजन : केन्द्रीय कार्यालय यसैगरी केन्द्रीय संगठन प्रमुख काशीनाथ अधिकारी र प्रचार तथा प्रकाशन विभागको प्रमुख राजेन्द्र गौतम तोकिएका छन् । पहिला केन्द्रीय संगठन प्रमुखमा खगराज अधिकारी र प्रचार विभाग प्रमुख उपमहासचिव पृश्वीसुब्बा गुरुङ थिए । उपमहासचिव ज्ञवालीका अनुसार स्थानीय कमिटी र पोलिटब्यूरो सदस्यहरुलाई जिल्ला इन्चार्ज बनाएएको छ भने केन्द्रीय सदस्यहरुलाई पालिकाहरु नै तोकेर कामको जिम्मेवारी दिइएको छ । साथै स्कुलिङ, प्रचार र जनसंगठनहरुको संयोजन गर्न सात वटा प्रदेशमा एकएक जना केन्द्रीय सदस्य खटाइएको छ । बैठकले विभिन्न पार्टीबाट आएका १३ जनालाई केन्द्रीय सदस्य मनोनित गरिएको ज्ञवालीले बताए । उनका अनुसार मुकुन्द न्यौपाने, प्रेमबहादुर सिंह, भागवत विश्वासी, चुडामणि जंगली, हेमराज राई, ठक्बर विष्ट, उमाशंकर अरगरिया, अजय गुप्ता, इकवाल मिया, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार र सुरेन्द्र मानन्धरलाई केन्द्रीय सदस्य मनोनित गरिएको छ ।