कार्यालयमा बचतकर्ताको भीडपछि इमेज सहकारीकाे महिला कर्मचारी बेहोस !

बचतकर्ताको भिडपछि महिला कर्मचारी बेहोस भएकी हुन्, स्रोतले भन्यो, बेहोस भएकी उनको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको थियो ।

कार्यालयमा बचतकर्ताको भीडपछि इमेज सहकारीकाे महिला कर्मचारी बेहोस !
याेगेन्द्र विक, पाेखरा । इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुर्तिबाङमा बचतकर्ताको भिड लागेपछि एक महिला कर्मचारी बेहोस भएकी छन् । मंगलबार दिउँसो ४ बजे बचतकर्ताको कार्यालयमा भिड लागेपछि 'क्यास काउन्टर'मा काम गर्ने एक महिला कर्मचारी बेहोस भएकी हुन् । 'बचतकर्ताको भिडपछि महिला कर्मचारी बेहोस भएकी हुन्', स्रोतले भन्यो, 'बेहोस भएकी उनको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको थियो ।' 'दिउँसो ४ः३० बजे कार्यालयमै बेहोस भएपछि यहाँ उपचार गराउन ल्याइएको थियो,' प्राथमिक स्वास्थ्य केन्द्रका एक कर्मचारीले भने, 'आधा घण्टाकाे उपचारपछि उहाँ घर फर्किनुभएको हो ।' सहकारीका संस्थापक अध्यक्ष एवम् ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली बचतकर्ताको रकम तिर्न नसकेपछि केही दिनदेखि सम्पर्क विहीन छन् ।  नेपालीले पोखरा र बागलुङमा ‘इमेज बचत तथा ऋण सहकारी संस्था’का नाममा २ वटा छुट्टाछुट्टै सहकारी खोलेर सर्वसाधारणको २ अर्ब अपचलन गरेको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ। सहकारीका अध्यक्ष एवं ढोरपाटनका मेयर नेपाली सम्पर्कविहिन भएपछि पीडित बचतकर्ताले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्। सोही निवेदनका आधारमा नेपालीलाई विदेश जान नदिन गृह मन्त्रालय र आवश्यक छानविन गरी कारबाही गर्न सहकारी रजिष्ट्रारको कार्यालयमा पत्राचार गरेको बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बताइन्। यता पोखरा महानगरपालिकास्थित सृजना चोकमा रहेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पनि मंगलबार बचतकर्ताले नारा बाजी छन् । सरकारीमा जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने भन्दै उनीहरुले नाराबाजी गरेका हुन् । बचतकर्ताको उजुरीका आधारमा इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीसहित संस्थाको बैंक खाता  र  सम्पत्ति रोक्काका लागि पत्राचार पोखरा महानगरपालिका सहकारी महाशाखा प्रमुख भरतजार पौडेलले जानकारी दिए । स्रोतका अनुसार संस्थाका अध्यक्ष देवकुमार नेपाली विदेश पुगिसकेको बताइएको छ । तर, आधिकारिक पुष्टि हुन भने सकेको छैन । कारबाहीको व्यवस्था के छ ? सहकारी ऐनको परिच्छेद १७ को दफा ७८ को खण्ड १ ले सदस्यको हित विपरीत कार्यभएमा, संस्थाले पूरा गर्नुपर्ने वित्तीय दायित्व पूरा नगरेको वा भुक्तानी गर्नुपर्ने दायित्व भुक्तानी गर्न नसकेको अवस्था, बचत निर्धारित सर्त फिर्ता गर्न नसकेको वा गम्भीर आर्थिक कठिनाई भोगिरहेको अवस्थामा समस्याग्रस्त संस्था घोषणा गर्न सक्ने व्यवस्था गरिएको छ । तर, सहकारी सञ्चालकहरुले त्यसो गरेको अवस्था भने रहेको छैन । रकम हिनामिना गर्ने अनि फरार हुने गरेको पाइन्छ । यस्तै कसूर, दण्ड जरिवाना तथा पुनरावेदनको सवालमा परिच्छेद १८ को दफा ८० को खण्ड 'घ' मा भनिएको छ, ‘समितिको सदस्य, व्यवस्थापक वा कर्मचारीले संस्थाको सम्पत्ति, बचत वा शेयर रकम हिनामिना गरेमा’ खण्ड 'च' मा ‘समितिका कुनै सदस्यले एक्लै वा अन्य सदस्यको मिलेमतोमा संस्थाको शेयर वा बचत रकम आफू खुसी परिचालन गरी संस्थालाई हानी नोक्सानी पु¥याएमा’ दण्ड दिन सक्ने व्यवस्था गरेको छ । दफा ८१ अनुसार दश लाख रुपैयाँसम्म बिगो भए एक वर्ष कैद, १० देखि ५० लाख रुपैयाँसम्म बिगो भए दुई देखि तीन वर्ष कैद, ५० देखि एक करोड रुपैयाँसम्म बिगो भए तीन देखि चार वर्ष कैद, एक करोडदेखि दश करोड रुपैयाँसम्म भएमा चार वर्षदेखि ६ वर्ष कैद र एक अर्बभन्दा बढी बिगो भएमा आठ वर्षदेखि १० वर्षसम्म कैद हुने व्यस्था रहेको छ ।