नक्कली भुटानी शरणार्थी प्रकरण : प्रहरीले बुझाएको १६८ पेज लामो प्रतिवेदनमा के छ ?

पक्राउ परेर हिरासतमा रहेका १६ र पक्राउ पर्न बाँकी १४ गरी ३० जनालाई प्रतिवादी बनाउनुपर्ने निष्कर्ष प्रतिवेदनमा रहेको सरकारी वकिलको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने जानकारी दिए ।

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रहरीले बुझाएको १६८ पेज लामो प्रतिवेदनमा के छ ?
काठमाडौं । नक्कली शरणार्थी ठगी प्रकरणको प्रतिवेदन प्रहरीले बुझाएको छ । ३० जनाविरुद्ध करीब २७ करोड बिगो कायम गरी मुद्दा चलाउनुपर्ने रायसहितको प्रहरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं बुझाएको हो । पक्राउ परेर हिरासतमा रहेका १६ र पक्राउ पर्न बाँकी १४ गरी ३० जनालाई प्रतिवादी बनाउनुपर्ने निष्कर्ष प्रतिवेदनमा रहेको सरकारी वकिलको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने जानकारी दिए । यसअघि ३२ जना प्रतिवादी रहेको भन्ने सूचना प्रहरीबाटै आएकोमा ३० जनालाई मात्र प्रतिवादी बनाउन राय पेश गरेको पाइएको हो । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले पनि ३० जनालाई प्रतिवादी बनाउनुपर्ने निष्कर्ष रहेको बताए । उनका अनुसार प्रहरीले बुझाएको प्रतिवेदन कुल १७८ पृष्ठको छ । प्रतिवेदनमा के छ ? एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल, उनकी पत्नी नैनकला थापा, पूर्वगृहसचिव एवम् अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई, एमालेका पूर्व प्रदेश सांसद अजयक्रान्ति शाक्य र एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको समेत नाम प्रतिवेदनमा उल्लेख गरिएको छ। उनीहरुविरुद्ध थप प्रमाण जुट्नासाथ पूरक अभियोग लैजान बाटो खुल्ला गरिएको हो। शरणार्थी प्रकरणको सुरुवात बादल गृहमन्त्री र प्रेमकुमार राई गृहसचिव हुँदा भएको थियो। बादल र राईले नै शरणार्थीको दीर्घकालीन व्यवस्थापन गर्न भन्दै कार्यदल गठन गरेका थिए। बादल गृहमन्त्री हुँदै शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गिरोहले नेपालीबाट लाखौँका दरले रकम उठाउन थालेका थिए। गृहसचिव प्रेमकुमार राई चाँडै गृहबाट अवकाश भए पनि उनलाई समेत रकम दिएको पक्राउ परेकाहरुले बयान दिएका थिए । गृहमन्त्री बादलका छोरा प्रतीक फरार छन्। उनलाई भने प्रहरीले प्रतिवादी बनाउन राय दिएको छ । उनको संलग्नता रहेको प्रमाणसहित बुझाइएको प्रहरीको दाबी छ । प्रहरी उच्च स्रोतका अनुसार नैनकलाले समेत रकम बुझेको बिचौलियाले बयानमा बताएका छन्। त्यसको पुष्टि प्रतीकको म्यासेजबाट समेत भएको छ । आमाले रकम बुझिसकेको भनेर प्रतीकले बिचौलियालाई म्यासेज गरेको प्रहरीलाई बताएका छन् । प्रतीकलाई फरारकै सूचीमा राखेर प्रहरीले प्रतिवेदन बुझाएको छ। यस्तै बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पनि पक्राउ परेका छन्। उनले सबैभन्दा बढी रकम लिएको प्रमाण फेला परेको छ। उनलाई प्रहरीले वैशाख २० गते पक्राउ गरेको थियो। इन्द्रजितका छोरा निरज पनि यो प्रकरणमा संलग्न देखिएको प्रहरीको दाबी छ। प्रहरीले उनलाई पनि फरारको सूचीमा राखेर मुद्दा बुझाएको छ। अनुसन्धानका क्रममा यो ठगी प्रकरण बादलकै पालामा भएको खुले पनि बादलको प्रत्यक्ष संलग्नताको प्रमाण जुटाउन नसक्दा प्रहरीले उनलाई प्रतिवादी बनाउन सकेन। यस्तै नेकपा एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्य र पूर्व प्रदेश सांसद अजयक्रान्ति शाक्यको पनि नाम उल्लेख गरिएको छ। उनीहरुलाई पनि रकम बुझाएको प्रतिवादीको बयान छ। उनीहरुको नाम बयानमा उल्लेख भएसँगै अनुसन्धान प्रतिवेदनमा प्रमाण जुटेको अवस्थामा पूरक अभियोग दर्ता हुन सक्ने उल्लेख गरिएको छ। तर यसअघि चर्चा भएका शेरबहादुर देउवा पत्नी आरजु राणा र बालकृष्ण खाँण पत्नी मञ्जु खाँणको भने प्रतिवेदनमा नाम उल्लेख गरिएको छैन। उनीहरुको नाम बयानका क्रममा प्रतिवादीले नलिएकाले उल्लेख नगरिएको अनुसन्धान अधिकारीले बताएका छन्। प्रहरीले ५७ दिन लामो अनुसन्धानपछि नक्कली शरणार्थी प्रकरणमा रायसहित सोमबार प्रतिवेदन बुझाएको हो। सोमबार जिल्ला सरकारी वकिल कार्याललय काठमाडौंमा बुझाएको प्रतिवेदनमा ३० जनालाई प्रतिवादी बनाउन प्रहरीले राय दिएको छ। तीमध्ये १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन्।