योगेशले जनयुद्धमाथि प्रश्न उठाएपछि देवेन्द्रले आँखा जुधाएर बहसमा आउन दिए चुनौति

सरकारले आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रमको पहिलो बुँदामा नै माओवादीको नेतृत्वमा भएको जनयुद्धु उल्लेख गरिएको थियो ।

योगेशले जनयुद्धमाथि प्रश्न उठाएपछि देवेन्द्रले आँखा जुधाएर बहसमा आउन दिए चुनौति
काठमाडौं ।सरकारले आर्थिक वर्ष २०८०/८१ को निती तथा कार्यक्रमको पहिलो बुँदामा नै माओवादीको नेतृत्वमा भएको जनयुद्ध उल्लेख गरिएको थियो । `विभिन्न कालखण्डमा भएका राजनीतिक क्रान्ति, जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनलगायतका बलिदानीपूर्ण संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञानअज्ञात सहिदहरूप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दछु´ भन्ने लेखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ मा संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा वाचन गरेको सरकारको नीति तथा कार्यक्रमको यो पहिलो बुँदामा नै आफ्नो असहमति रहेको एमाले सचिवसमेत रहेका योगेश भट्टराईले प्रश्न उठाए । उनले आलोचना मात्रै गरेनन् कांग्रेसको अन्त्य हुन लागेको पनि घोषणा गरे । 'आज मेरा केही प्रश्न नेपाली कांग्रेसप्रति छ । सम्बोधन (नीति तथा कार्यक्रम) को पहिलो नम्बर बुँदामा हाम्रो असहमति छ । यहाँ विगतमा भएका आन्दोलनहरूको व्याख्या गर्दै जनयुद्ध भन्ने शब्द पनि उच्चारण भएको छ । यो विषयमा संविधानसभामा पर्याप्त बहस भएको हो । २०७२ सालको संविधानपछि नेपालका कुनै पनि सरकारी दस्तावेजहरूमा यो शब्द उल्लेख भएको छैन । पहिलोपटक प्रधानमन्त्री पुष्पकमल दाहालजीले यो शब्द राष्ट्रपतिको मुखबाट वाचन गर्न लगाउनुभएको छ´ उनले भने । त्यसपछि नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुन आएका माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले आपत्ति जनाए । पौडेलले एमाले सचिव भट्टराईलाई शब्दकोश पल्टाएर हेर्न र बहसमा आउन चुनौती दिए । माओवादीले युद्धबाट बृहत् शान्ति सम्झौता हुँदै शान्ति प्रक्रियामा आएको पनि पौडेलले स्मरण गराए । आफ्ना नेताले १२ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेको नबिर्सिन पनि आग्रह गरेका थिए । 'यो जनयुद्धको बारेमा माननीयज्यूलाई एकपटक डिक्सनरी पल्टाएर हेर्न आग्रह गर्न चाहन्छु,´ उनले भने ,` यो माछा युद्ध थियो ?  भालु युद्ध थियो र? जंगलका अर्नाहरू लडेका थिए कि रुख र ढुंगाहरू लडेका थिए ?´ मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ कि जनयुद्ध भनिन्छ भन्दै प्रश्न गरे । 'मानिसका छोराहरू लडेको युद्ध थियो' पौडेलले भने, ' नेपाली जनतालाई सार्वभौम बनाउन, संविधानसभाबाट संविधान बनाउनका निम्ति जनयुद्ध लडिएको थियो । म हजारपटक आँखा जुधाएर बहस गर्न तयार छु, आउनुस् बहस गर्न' । नेपाली जनताले एकान्तमक शाह वंशीय राजतन्त्रको अन्त गरेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनका निम्ती जनयुद्ध गरिएको उनले बताए । जनयुद्धपछि माओवादी र अन्य राजनीतिक दलहरूले सहकार्य गरेर जनआन्दोलन भएको पनि पौडेलको भनाइ थियो । उनले रोस्ट्रममा उभिएर कटाक्ष नगरी मिलेर अगाडि बढ्न आग्रह गरेका थिए । 'रोस्ट्रममा आएर कटाक्ष गर्नुभन्दा मिलेर जाने कुरा गरौं यहाँ । माननीयज्यूहरू, धनगढीमा चलिराखेको छ नागरिक अभिनन्दन राजतन्त्र फर्काउने कुरा, त्यहाँ गएर बहस गर्नुस्' । 'हामी यहाँ सहकार्य गर्न तयार छौं' माओवादी सचिव पौडेलले एमाले सचिव भट्टराईलाई भने, 'आजको इतिहास भनेको सबैले मिलेर ल्याएको गणतन्त्र जोगाएर जाने हो । त्यसकारणले विगतका सबै आन्दोलनप्रति सम्मान गर्न सिकौं ।'