जनार्दन शर्माको प्रश्न : सबै खाले भ्रष्टाचारको छानबिन गर्छु भन्नु सरकारको गल्ती हो ?

पूर्व अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रम यथार्थमा आधारित भएर आएको बताएका छन् ।

जनार्दन शर्माको प्रश्न : सबै खाले भ्रष्टाचारको छानबिन गर्छु भन्नु सरकारको गल्ती हो ?
काठमाडौँ । पूर्व अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रम यथार्थमा आधारित भएर आएको बताएका छन् । शुक्रवार संसदमा पेश भएको बजेटको नीति तथा कार्यक्रम माथिको छलफलमा आफ्नो राय राख्दै अर्थमन्त्री शर्माले वर्तमान आर्थिक स्थिति, संविधानको रक्षा, आर्थिक संवृद्धि, समानता र समानुपातिक विकास र सम न्यायिक समाज निर्माण गर्ने गरी नीति तथा कार्यक्रम आएको बताए । सांसद शर्माले संसदमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरू पक्ष र विपक्ष भएर आरोप प्रत्यारोपमा उत्रिएकाबारे दुःख व्यक्त गरे । ‘संसदीय प्रणालीलाई नमानौँ फरक तरिकाले अघि बढौँ भनेजसरी संसद् अघि बढिरहेको छ । यसरी जाने हो भने पनि म त तयार छु । तर, नीति तथा कार्यक्रमलाई संसदीय व्यवस्थाभन्दा फरक तरिकाले हेर्न भएन ।' नीति तथा कार्यक्रम सिङ्गो बजेट होइन, कार्यदिशा हो’ पूर्व अर्थमन्त्री शर्माले भने, ‘यसले स्पष्ट दिशा निर्देशन गरेको छ कि छैन यो महत्त्वपूर्ण छ । सत्तापक्ष र प्रतिपक्षको रूपमा नीति तथा कार्यक्रमलाई हेर्नुभएन ।’ ‘समस्याको सम्बोधन गर्ने र आर्थिक सुरमा केन्द्रित हुँदै बजेटको नीति तथा कार्यक्रम आएको छ, म यसको समर्थन गर्छु’ शर्माले भने । संविधानको व्यवस्था, कार्यान्वयन र आर्थिक संवृद्धिको कार्यदिशामा अघि बढ्ने गरी बजेटको नीति तथा कार्यक्रम आएको उनको भनाइ छ । बजेटको नीति तथा कार्यक्रम शिक्षा, स्वास्थ्य, रोजगारी, समतामूलक र न्यायिक समाज निर्माणमा आधारित छ । नीति तथा कार्यक्रमले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाएको छ । सबै खाले भ्रष्टाचारको छानबिन गर्ने भनेको छ, के यो पुलिन्दा हो ? झुटा हो ?’ उनले प्रतिप्रश्न गरेका हुन् ।