देशको रक्षाको संकल्पसहित म प्रधानमन्त्रीको जिम्मेवारीमा छु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको एकता र परिवर्तनको रक्षाको संकल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताएका छन् ।

देशको रक्षाको संकल्पसहित म प्रधानमन्त्रीको जिम्मेवारीमा छु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको एकता र परिवर्तनको रक्षाको संकल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताएका छन् । कान्तिपुर मिडियाद्वारा राजधानीमा आज (शनिबार) आयोजित हाफ म्याराथन दौडको एक कार्यक्रमबीच शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्। प्रधानमन्त्रीले भने, ‘‘यो परिवर्तन मार्फत नै जनतालाई सेवा दिन सकिन्छ, सुशासन दिन सकिन्छ र विकास दिन सकिन्छ भन्ने संकल्प सहित यो पटक म प्रधानमन्त्रीको जिम्मेवारीमा छु । हिजोका दिनमा भएका राष्ट्रिय एकता, सहमति र सहकार्यलाई जीवन्त तुल्याउन सकिन्छ भन्ने उद्देश्यले नै हामी दलहरु बीच छलफलमा छौं ।’’ उनले शीर्ष नेताहरु बीच हुने गरेका छलफल पनि तिनै विषयका साथै संसदका विभिन्न समितिहरु, सङ्क्रमणकालीन न्याय र गणतन्त्र विरोधि प्रवृत्तिलाई निरुत्साहित गर्न मै केन्द्रित हुने गरेको स्पष्ट गरेका हुन् । प्रधानमन्त्रीले भारतसँग खुला सिमा, आर्थिक, राजनीतिक, सामाजिक, जनता–जनताबीचको सम्बन्धको दृष्टिकोणले सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै आगामि भ्रमण दुबै देशका लागि ऐतिहासिक बन्ने बताए ।