काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले जन्मसिद्ध नेपाली नागरिकका छोराछोरीले नागरिकता प्राप्त गर्नेसम्बन्धी विधेयकमाथिको अलमल एक महिनाभित्रै टुंगो लाग्ने बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको प्रश्नोत्तर श्रृंखलामा जनता समाजवादी पार्टी ९जसपा०का दीपक कार्कीले नागरिकता विधेयकका विषयमा सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले अहिले दुई पटकसम्म सदनबाट पारित गरेर पठाएको विधेयक राष्ट्रपति कार्यालयमा होल्ड भएका विषयमा कानुनी परामर्श र छलफल भइरहेको जानकारी दिए ।
‘जन्मसिद्ध नेपाली नागरिकका छोराछोरीले नागरिकता प्राप्त गर्नेसम्बन्धी विधेयक योभन्दा अघि दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ गएको कुरा हामी सबैलाई थाहै छ । पहिलो पटक राष्ट्रपतिबाट त्यो विधेयक फिर्ता भयो, हामीले दोस्रो पटक सदनबाट पारित गरेर पठाएको विधेयकसमेत तत्कालिन राष्ट्रपतिबाट प्रमाणीकरण भएन,’ प्रधानमन्त्री दाहालले भने, ‘संविधानअनुसार सदनबाट पारित भएर प्रमाणीकरणका लागि पठाइएको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गर्नैपर्ने संवैधानिक बाध्यता थियो ।
तर तत्कालीन राष्ट्रपतिबाट न त त्यो विधेयक खारेज भयो, न फेरि फिर्ता पठाउन मिल्ने स्थिति थियो, बरू त्यसलाई होल्डमा राख्ने काम भयो । अब त्यसलाई कसरी अघि बढाउने भन्ने विषयमा विभिन्न विकल्पहरू आएका छन् । प्रधानमन्त्रीका रूपमा म नागरिकता विधेयकमाथिको अलमल एक महिनाभित्रै टुंगो लाग्ने वचन दिन्छु ।’
उनले तत्कालीन राष्ट्रपतिले होल्ड गरेको विधेयक अब नयाँ राष्ट्रपतिले जारी गर्न मिल्ने वा नमिल्ने भन्ने विषयमा छलफल भइरहेको बताए ।
नागरिकता विधेयकमाथिको अलमल एक महिनाभित्रै टुंगो लाग्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहालले जन्मसिद्ध नेपाली नागरिकका छोराछोरीले नागरिकता प्राप्त गर्नेसम्बन्धी विधेयकमाथिको अलमल एक महिनाभित्रै टुंगो लाग्ने बताएका छन् ।

