प्रचण्डले भने -'लडाकू शिविरमा अनियमितता भएको पुष्टि भए जेल जान तयार छु'

प्रतिनिधिसभा बैठकमा बिहीवार सांसद ज्ञानेन्द्र शाहीको प्रश्नको जवाफमा प्रचण्डले यो विषय पुष्टि भए आफू जेल जान तयार रहेको बताए ।

प्रचण्डले भने -'लडाकू शिविरमा अनियमितता भएको पुष्टि भए जेल जान तयार छु'
काठमाडाैं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लडाकू शिविरमा भ्रष्टाचार भएको भन्ने आरोप कपोलकल्पित रहेको जिकिर गरेका छन् । प्रतिनिधिसभा बैठकमा बिहीवार सांसद ज्ञानेन्द्र शाहीको प्रश्नको जवाफमा प्रचण्डले यो विषय पुष्टि भए आफू जेल जान तयार रहेको बताए । 'क्यान्टोनमेन्टको कुरा कपोलकल्पित र पूर्वाग्रही छ भन्ने मेरो दृढ विश्वास छ,' प्रधानमन्त्री प्रचण्डले भने, 'फेरि पनि कसैले दिएको उजुरीकै आधारमा छानबिन गरेर दोषी ठहरिए म आफैं जेल जान तयार रहेको जानकारी गराउन चाहन्छु ।' उनले यस विषयमा आरोपका निम्ति आरोप लगाइएको गुनासो गरे । 'पूर्व माओवादीका लडाकूलाई राज्य कोषबाट दिइएको रकम हिनामिना गरेको भन्नु आरोपका निम्ति आरोप हो । शान्ति सम्झौता भएर क्यान्टोन्मेन्टमा लडाकूलाई राख्ने समझदारी भइसकेपछि अडिट गरिएको छ । हिसाबकिताब सबै रेकर्डमा छ । त्यतिबेला गिरिजा (गिरिजाप्रसाद कोइराला) प्रधानमन्त्री हुनुहुन्थ्यो । कांग्रेसबाट डा.रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो । उहाँहरू समेतले रुजु गरेपछि यसको पटाक्षेप भइसकेको छ,' प्रचण्डले भने ।