सानु भण्डारीको बयान : अख्तियारका प्रमुख राईको गाडीमा दुई करोड राखिदिएँ

नक्कली शरणार्थी प्रकरणमा मुछिएर हाल अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका सानु भण्डारीले आफ्नो बयानमा तत्कालीन गृहसचिव राईले आफूसँग नगद बुझेको दाबी गरेका छन् ।

सानु भण्डारीको बयान : अख्तियारका प्रमुख राईको गाडीमा दुई करोड राखिदिएँ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राई नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन् । नक्कली शरणार्थी प्रकरणमा मुछिएर हाल अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका सानु भण्डारीले आफ्नो बयानमा तत्कालीन गृहसचिव राईले आफूसँग नगद बुझेको दाबी गरेका छन् । भण्डारीले आफूहरुले राईको गाडीको डिक्कीमा दुई करोड ३० लाख रुपैयाँ राखिदिएको बयान दिएका हुन्। राईले आफ्नो गाडीमा पैसा राखिदिन भन्दै थप कुरा तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राईसँग गर्न भनेको भण्डारीको दाबी छ। गृह मन्त्रालयले राई गृहसचिव भएकै बेला २०७६ साल जेठमा तेस्रो देश जान बाँकी रहेका भुटानी शरणार्थीको पहिचान गर्न पूर्वसहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा कार्यदल गठन गरेको थियो। उनी २०७४ चैत २६ देखि ७६ माघ २० सम्म गृहसचिव रहेका थिए। उक्त कार्यदल नै नक्कली भुटानी शरणार्थी बनाउने गिरोहको योजनाका भएको तथ्य सार्वजनिक भइरहेका बेला पक्राउ परेका भण्डारीले राईलाई मन्त्रालय नै पुगेर नगद बुझाएको बयान दिएका हुन्। प्रहरीले भण्डारीकै बयानका आधारमा पूर्वगृहन्त्री बालकृष्ण खाँण र राष्ट्रपति कार्यालयका सचिव टेकनाराण पाण्डेलाई पक्राउ गरेर अनुसन्धानमा राखेको छ। हालसम्म खाँण, पाण्डे, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित यो प्रकरणमा १४ जना पक्राउ परिसकेका छन्।