ओम्नी, बालुवाटार, सेक्युरिटी प्रिन्टिङ प्रकरणको पनि छानबिन हुन्छ : देवेन्द्र पौडेल

उनले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनलाई प्रभावित पार्नका लागि अरु प्रकरणको पनि छानबिन गर्नुपर्ने भनेर विषयान्तर गर्न खोजिएको पनि बताए ।

ओम्नी, बालुवाटार, सेक्युरिटी प्रिन्टिङ प्रकरणको पनि छानबिन हुन्छ : देवेन्द्र पौडेल
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सचिव तथा सांसद देवेन्द्र पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनलाई टुंगोमा पुर्‍याएपछि अन्य भ्रष्टाचारका प्रकरणमा पनि छानबिन गर्नुपर्ने बताएका छन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनलाई प्रभावित पार्नका लागि अरु प्रकरणको पनि छानबिन गर्नुपर्ने भनेर विषयान्तर गर्न खोजिएको पनि बताए । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद पौडेलले एउटा विषयको छानबिन भइरहेको बेला अर्को विषयमा पनि छानबिन गर्नुपर्छ भन्ने विषय उठाएर समस्याको समाधान नहुने बताए । 'एउटा विषयको छानबिन चलिराखेको बेलामा, अर्को विषय उठाइदिएर विषयान्तर नगरौँ । भुटानी शरणार्थीको विषय गम्भीरतापूर्वक उठेको छ । सत्यतथ्यलाई निष्कर्षमा पुर्‍याउनका लागि सरकारलाई सम्बन्धित निकायहरूलाई सहयोग पुर्‍याउनुपर्ने यतिबेलाको हामी सबैको साझा कर्तव्य र दायित्व हो', उनले भने, 'पहिला पनि उठेका थिए कतिपय कुराहरू । ती कुराको पनि क्रमशः छानबिन गर्नेछौं । ओम्नी प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण, बालुवाटार प्रकरण, एनसेल प्रकरण, सुन तस्कर प्रकरण पनि उठेका थिए । यी विषयको पनि छानबिन गरौंला ।' नेपाली नागरिकलाई विदेशी बनाएर अर्को देशमा पठाउने घटना गम्भीर भएको पौडेलको भनाइ थियो । उक्त घटनाको छानबिन भइरहेको अवस्थामा पनि सरकारमाथि प्रश्न उठाइएको भन्दै उनले भने,' मैले त सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु, राम्रो काम गरेको बेलामा इमानदारितापूर्वक समर्थन गर्न डराउनुहुँदैन । भ्रष्टाचारको विषय पक्ष र प्रतिपक्षको विषय होइन । नेपालको नागरिकहरूको साझा विषय हो ।'