जेलभित्र के गर्छन् सन्दीप ?

भद्र बन्दीगृहमा करिब एक हजार कैदीबन्दी छन् । सन्दीप रहेको हलमा करिब ६५ जना कैदीबन्दी छन् ।

जेलभित्र के गर्छन् सन्दीप ?
काठमाडौं । जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने अहिले जेलभित्रै पनि क्रिकेट खेल्न थालेका छन् । सुन्धारास्थित भद्र बन्दीगृहभित्र रहेको खेलमैदानमा कैदीबन्दीसँग उनी क्रिकेट खेल्ने गरेका छन् । सन्दीपको यो रुचिमा अन्य कैदीबन्दी र जेल प्रशासनको पनि सहयोग छ । जिल्ला अदालतको आदेशमा गत १८ कात्तिकमा सन्दीप सुन्धारास्थित कारागार चलान भएका थिए । कारागार स्रोतका अनुसार त्यसको भोलिपल्टै उनले अन्य कैदीबन्दीसँग क्रिकेट खेलेका थिए । जेलभित्र टेनिस बलमा क्रिकेट खेल हुने गरेको छ । सन्दीप पनि टेनिस बलमै खेल्छन् । केन्द्रीय कारागारका जेलर ईश्वर पाण्डेका अनुसार भद्र र केन्द्रीय कारागार दुवैमा खेलमैदान छ । ‘त्यहाँ फुटबल, क्रिकेट र टेबुलटेनिसलगायत खेल हुन्छन्,’ उनले भने, ‘वेलावेला आन्तरिक प्रतिस्पर्धासमेत हुने गरेको छ ।’ भद्र बन्दीगृहमा करिब एक हजार कैदीबन्दी छन् । सन्दीप रहेको हलमा करिब ६५ जना कैदीबन्दी छन् । जेलभित्र चौकीदारको नेतृत्वमा कैदीबन्दीकै आन्तरिक प्रशासन हुन्छ । सोही प्रशासनले खानेदेखि खेलकुदसम्मका नियम बनाई लागू गर्दछ । २० भदौमा उनीविरुद्ध जाहेरी परेकोमा २० असोजमा विदेशबाट फर्कँदा उनी पक्राउ परेका थिए । आजको नयाँ पत्रिका दैनिकबाट