११ जनाको बयान सकियो, साेमबारदेखि बालकृष्ण खाँणको शुरु हुने

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका बालकृष्णको बयान लिनुअघि सरकारी वकिल र प्रहरीले उनका निजी सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारयाण पाण्डेको बयान लिएका हुन्।

११ जनाको बयान सकियो, साेमबारदेखि बालकृष्ण खाँणको शुरु हुने
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको सोमबारदेखि बयान हुने भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका बालकृष्णको बयान लिनुअघि सरकारी वकिल र प्रहरीले उनका निजी सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारयाण पाण्डेको बयान लिएका हुन्। टेकनारायणको बयान दुई चरणमा भइसकेको छ। नरेन्द्रको भने आइतबार बयान गराइएको हो। आइतबार उनको बयान सकिएको सरकारी वकिल कार्यालय स्रोतले जानकारी दिएको छ। नरेन्द्रलाई बयानका लागि आइतबार कार्यालय खुल्नासाथ जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा उपस्थित गराइएको थियो। झण्डै ५ बजे उनको बयान सकिएको हो। निजी सचिव केसीको बयान सकिएसँगै पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान सुरु हुने भएको हो। जिल्ला अदालत काठमाडौंले यो मुद्दा अनुसन्धानका लागि थप चार दिन समय दिएको छ । पक्राउ परेका ११ जनाको बयान सकिएको छ। अब खाँणको मात्रै बयान बाँकी छ। तर सरकारी वकिल कार्यालय र प्रहरीले आवश्यक परे थप बयान लिन सक्नेछन्। यसअघि गृहसचिव टेकनारायण पाण्डेको दुई चरणमा बयान गराइएको थियो। पहिलो चरणमा सबै आरोप अस्वीकार गरेका पाण्डेले मोबाइल परीक्षणपछि डिजिटल फरेन्सिक ल्याबको रिपोर्ट आएपछि भने स्वीकार गरेका थिए।