नेपालमा 'मोका' नामक चक्रवातको प्रभाव, तीन दिनसम्म हावाहुरीसहितको वर्षा हुने

महाशाखाका अनुसार आज, भोलि र पर्सि तीन दिन पहाडी क्षेत्रको मौसम बदली हुनेछ । यी प्रणालीको प्रभाव आजभन्दा भोलि र पर्सि अझ धेरै पर्ने देखिएको छ ।

नेपालमा 'मोका' नामक चक्रवातको प्रभाव, तीन दिनसम्म हावाहुरीसहितको वर्षा हुने
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा ठूलो हावाहुरीसहित असिना पानी परिरहेको छ । बङ्गालको खाडीमा विकसित भएको 'मोका' नामक चक्रवात र पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएकाले चट्याङ, गड्याङगुडुङ र हावाहुरीसहित असिना पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज, भोलि र पर्सि तीन दिन पहाडी क्षेत्रको मौसम बदली हुनेछ । यी प्रणालीको प्रभाव आजभन्दा भोलि र पर्सि अझ धेरै पर्ने देखिएको छ । मोका चक्रवातको प्रभाव अहिलेसम्म नेपालमा नपरे पनि अहिलेदेखि पर्न थालेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । पूर्वी क्षेत्रमा यो चक्रवातको प्रभाव धेरै पर्ने देखिएको उनले बताइन् । पश्चिमी क्षेत्रमा भने पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण पानी पर्ने अनुमान गरिएको हो । चक्रवात, पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तराईका जिल्लामा खासै नपर्ने देखिएकाले त्यहाँको मौसम सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् ।