लगातार किन भइरहेको छ जहाज ‘ओभरसुट’ ?

त्यसदिन एअर इन्डियासहित अन्तर्राष्ट्रिय उडानका तीन जहाज भारतको वनारस र लखनऊ ‘डाइभर्ट’ भएका थिए। फ्लाई दुबई र इन्डिगो एअरको जहाज पनि लखनउ ‘डाइभर्ट’ भएको थियो।

लगातार किन भइरहेको छ जहाज ‘ओभरसुट’ ?
सिबी अधिकारी, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समययता लगातार जहाजले ‘ओभरसुट’ गर्दै आइरहेका छन्। भारतको नयाँदिल्लीबाट आएको एअर इन्डियाको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा वैशाख २७ मा ‘ओभरसुट’ गर्‍यो। काठमाडौं विमानस्थलमा दिउँसो ‘मिस एप्रोच’ भएपछि जहाजले ओभरसुट गरेर सिमरामाथिको आकाशमा करीब एक घन्टा फन्को लगाएर पुनः अवतरणको प्रयास गर्‍यो। फेरि पनि अवतरण हुन नसकेपछि भारतको बनारस ‘डाइभर्ट’ भएको विमानस्थल कार्यालयले जनाएको छ। त्यसदिन एअर इन्डियासहित अन्तर्राष्ट्रिय उडानका तीन जहाज भारतको वनारस र लखनऊ ‘डाइभर्ट’ भएका थिए। फ्लाई दुबई र इन्डिगो एअरको जहाज पनि लखनउ ‘डाइभर्ट’ भएको थियो। विमानस्थलका एक एअर ट्राफिक कन्ट्रोलर (एटीसी) का अनुसार उक्त दिन ‘टेल वीन’ (पछाडिबाट लागेको हावा) का कारणले जहाज अवतरण समस्या आएको थियो। अन्तर्राष्ट्रिय उडानका ठूला जहाज धावनमार्गको दक्षिणतर्फबाट मात्रै अवतरण हुन्छन्। दक्षिणतर्फ तीव्र गतिको हावा चलेकाले जहाज अवतरण हुन नसकेको विमानस्थल कार्यालयको भनाइ छ। त्यस्तै, वैशाख १६ गते दिउँसो नयाँ दिल्लीबाटै काठमाडौं आएको एअर इन्डियाको जहाजले ‘ओभरसुट’ गरेको थियो। विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त जहाज ‘अनस्टेबल एप्रोच’ भएकाले ‘ओभरसुट’ गरेको हो। यसरी एक महीनामै एअर इन्डियाको जहाजले दुई पटक ‘ओभरसुट’ ग¥यो। जहाज ‘अनस्टेबल एप्रोच’ भएर तथा कहिलेकाही ‘एप्रोच प्रोफाइल’ नमिलेर, जहाज ‘हाई अल्टिच्युट’ भएर आउँदा पनि ‘ओभरसुट’ गर्नुपर्ने विज्ञहरू बताउँछन्। जहाज ‘ओभरसुट’ र ‘होल्ड’ हुँदा सुरक्षाका हिसाबले निकै जोखिम हुने टिप्पणी हुँदै आएको छ। तर, जहाज ‘ओभरसुट’ र ‘होल्ड’ हुँदा जोखिम नभई थप सुरक्षित हुने विज्ञहरूको भनाइ छ। नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) का एक वरिष्ठ पाइलटका अनुसार ‘अनस्टेबल एप्रोच’ का कारण जहाजले ‘ओभरसुट’ गर्छन्। “ओभरसुट सबभन्दा बढी सुरक्षित हो, ओभरसुटलाई त हामीले ‘इन्करेज’ गर्नुपर्छ,” उनी भन्छन्, “ओभरसुटलाई अनस्टेबलाइज एप्रोच भन्छ।” नेपालमा ‘ओभरसुट’लाई नकारात्मक रुपमा लिने गरिए पनि संसारभर सकारात्मक रुपमा लिइन्छ। सम्बन्धित मुलुकको ‘एभिएसन अथ्योरिटी’ले कारबाही पनि गर्दैन। तर, नेपालमा ‘ओभरसुट’ भएपछि नियामक निकायले स्पष्टीकरण लिने गरेको उनको भनाइ छ। २०७९ वैशाख १ गते भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान भरेर काठमाडौं फर्किएको नेपाल एअरलाइन्सको ‘वाइड बडी’ जहाज अवतरण हुनैलाग्दा ‘ओभरसुट’ गरिएको थियो। पाइलटले धावनमार्गमा प्लास्टिकको सामान देखेपछि ‘एटीसी टावर’लाई जानकारी गराएर जहाज ‘ओभरसुट’ गरी पुनः अवतरण गरेका थिए। “पहिला म्यान्डेटरी एप्रोच पनि भनिन्थ्यो ओभरसुटलाई, तर अहिले आएर सम्भावित जोखिम न्यूनीकरणका हिसाबलाई यसलाई सकारात्मक रुपमा लिइन्छ, त्यसैले अहिले संसारमा ओभरसुटको विषयलाई लिएर प्रश्न नै नगर्ने भन्ने प्रवृत्ति बनिसकेको छ,” ति पाइलटले भने। जोखिम मोलेर अवतरण गर्नुभन्दा ‘ओभरसुट’ गर्नु बढी सुरक्षित भएकाले जहाजले त्यसो गरिने जनाइएको छ। विमानस्थलका प्रवक्ता सिटौला त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा दक्षिणतर्फबाट मात्रै ठूला जहाज अवतरण हुने भएकाले ‘होल्ड’ हुने र ‘ओभरसुट’ हुने गरेको बताउँछन्। जसका कारण विमानस्थललाई चाप परेको छ। विशेष गरी चैत–वैशाखमा धावनमार्गको दक्षिणतर्फबाट बढी हावा चल्ने भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजले ‘ओभरसुट’ गर्ने र ‘होल्ड’ हुने गरेका छन्। कतिपय अवस्थामा कम्पनीको नियमअनुसार पनि जहाजले ‘ओभरसुट’ गर्छन्। यसरी ‘ओभरसुट’ गरेको जहाजले एक चक्कर लगाएर करीब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ। सिमरामाथिको आकाशबाट काठमाडौं विमानस्थलमा ‘एप्रोच’ लिनुपर्ने हुन्छ। अन्तर्राष्ट्रिय उडानका जहाजले काठमाडौं विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै ‘एप्रोच’ लिने गरेका छन्। यसरी ‘ओभरसुट’ भएका जहाजका कारण ‘एप्रोच’का लागि विभिन्न गन्तव्यबाट आइरहेका अन्य जहाज ‘होल्ड’मा पर्छन्। यसले अन्तर्राष्ट्रिय विमानस्थलमा एअर ट्राफिक जाम पनि बढाउने गरेको छ। आन्तरिक उडानका जहाजलाई पनि चाप पर्छ। अहिले पनि अन्तर्राष्ट्रिय विमानस्थमा दैनिक एक घन्टासम्म जहाज ‘होल्ड’ हुने गरेका छन्। विमानस्थलको चापले आन्तरिक उडानका जहाजलाई पनि समस्या हुने गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त विमानस्थलमा पर्छ। यो विमानस्थल स्थापनाको ७२ वर्षअघि स्थापना भएको थियो। अहिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन्। ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बर्सेनि बढिरहेको छ। यो विमानस्थलको विकल्पको रुपमा पनि गौतमबुद्ध विमानस्थललाई लिइएको थियो। मौसम खराबी भएको अवस्थामा काठमाडौं विमानस्थलमा अवतरण गर्न नसकेका जहाज भैरहवा विमानस्थलमा सहजै अवतरण गर्नसक्ने गरी यान्त्रिक प्रणाली जडान गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेका जहाज तथा ‘होल्ड’ भएका कतिपय जहाजले गौतमबुद्ध विमानस्थल अवतरण गरेका हुँदैनन्। डाइभर्ट भएका अन्तर्राष्ट्रिय उडानका जहाज अझै पनि भारतको बनारस, लगनऊ, कोलकात्ता जाने गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक तीन सयभन्दा बढी उडान हुने गरेका छन्। तीन नेपालीसहित २९ एअरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्। आन्तरिकतर्फ ११ हेलिकोप्टर कम्पनीसहित २० हवाई सेवा प्रदायक कम्पनीले सेवा सञ्चालन गरिरहेका छन्। (रासस)