सुनसरीका पत्रकारहरूले मेयर हर्क साम्पाङविरुद्ध प्रशासनमा बुझाए ज्ञापन-पत्र

सुनसरीका पत्रकारहरूले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)बाट असुरक्षित भएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन्।

सुनसरीका पत्रकारहरूले मेयर हर्क साम्पाङविरुद्ध प्रशासनमा बुझाए  ज्ञापन-पत्र
धरान । सुनसरीका पत्रकारहरूले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)बाट असुरक्षित भएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले सुरक्षाको माग गर्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेमार्फत् गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन्। मेयर सम्पाङले नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष केशव घिमिरे, ब्लाष्ट टाइम्स दैनिकका पत्रकार खिलानाथ विक र कपुरी न्युज अनलाइनलाई धम्की दिएर प्रेस स्वतन्त्रताविरुद्ध अभिब्यक्ति दिएर पत्रकारलाई असुरक्षित बनाएकाले सुरक्षाको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले बताए। उनले अराजक गतिविधि गर्दै अपशब्द प्रयोग गर्दै पत्रकारलाई धम्की दिने मेयर साम्पाङलाई कारबाही गर्न माग गरेका छन्। सुरक्षाको माग गर्दै धरान, इटहरी, इनरुवा, बराहक्षेत्र बाट ५० जनाभन्दा बढी पत्रकार जिल्ला प्रशासन कार्यालय पुगेका थिए। प्रमुख जिल्ला अधिकारी पाण्डेले पत्रकारको सुरक्षामा सुनसरी प्रशासन संवेदनशिल भएकाले निर्धक्क भएर काम गर्न पत्रकारलाई अनुरोध गरिन्। उनले कानुन विपरित काम गर्ने जोकोहीलाई पनि पक्राउ गरी कारबाही गर्ने र ज्ञापनपत्र गृहमन्त्रीसमक्ष पुर्‍याउने प्रतिबद्धता जनाइन्।