रेसुङ्गा-काठमाडौं व्यवसायिक उडान सुरु

गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले व्यवसायिक उडान सुरु गरेको छ ।

रेसुङ्गा-काठमाडौं व्यवसायिक उडान सुरु
गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले व्यवसायिक उडान सुरु गरेको छ । शुक्रबार (आज) नेपाल एयरलाइन्सको नाइन एन एबिटी कल साइनको जहाजले व्यवसायिक उडान गरेको हो । काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा सो जहाज उडेको थियो । सो जहाजले चालक दलका सदस्य बाहेक १३ जना यात्रु बोकेर रेसुङ्गा आएको सो जहाज रेसुङ्गाबाट १४ यात्रु बोकेर ७ बजेर ४५ मिनेटमा काठमाडौं फर्किएको विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर आयुशा कार्कीले जानकारी दिइन् । अब रेसुङ्गा विमानस्थलबाट हप्ताको २ दिन मंगलबार र शुक्रबार उडान हुनेछ । व्यवसायिक उडानमा पहिलो पटक यात्रा गरेका रेसुङ्गा नगरपालिका वडानम्बर–४ का धनिश्वर गौतमले यात्रा निकै आनन्दपूर्ण रहेको बताए । उनले आफ्नी बिरामी आमालाई काठमाडौंमा उपचार गराएर घरमा ल्याउने क्रममा जहाजको यात्रा गरेका थिए ।