‘मलाई विश्वास छ, अब अर्थतन्त्र लयमा फर्कंदै जानेछ'

निर्यातमा १० प्रतिशत नगद अनुदान र भन्सार बिन्दुबाट निकासी भएको सात दिनभित्र अनलाइनबाट सम्बन्धित निर्यातकर्ताको बैंक खातामा भुक्तानी गर्नुपर्ने महासंघले माग गरेको छ ।

‘मलाई विश्वास छ, अब अर्थतन्त्र लयमा फर्कंदै जानेछ'
काठमाडौं । नेपालमा उत्पादन हुने र निर्यात गरिने व्यवसायलाई छुट दिएर आर्थिक अवस्था र व्यापार घाटा कम गर्न सकिने भन्दै महासंघले सरकारलाई उत्पादनमूलक उद्योगहरूमा छुटको माग गरेको हो । निर्यातमा १० प्रतिशत नगद अनुदान र भन्सार बिन्दुबाट निकासी भएको सात दिनभित्र अनलाइनबाट सम्बन्धित निर्यातकर्ताको बैंक खातामा भुक्तानी गर्नुपर्ने महासंघले माग गरेको छ । बुधबार अर्थमन्त्री प्रकाशशरण महतको उपस्थितिमा पूर्वबजेट अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्दै महासंघले यस्तो माग गरेको हो । उत्पादन बढाउन कृषिजन्य वस्तुका लागि चाहिने मल, बीउबिजनको उपलब्धता सुनिश्चित गर्न र निजी क्षेत्रलाई पनि सरकारीसरह सहुलियत दिएर आयात एवं बिक्री वितरण गर्न दिइनुपर्ने महासंघको माग छ । महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी बजेटमा सरकारले निजी क्षेत्रप्रति विश्वासको वातावरण बनाउनुपर्ने बताए । तीन त्रैमासमा अर्थतन्त्र ऋणात्मक भए पनि यस वर्ष १.८६ प्रतिशत वृद्धि हुने प्रक्षेपण कार्यालयको तथ्यांकले देखाएको र अबका दिनमा अर्थतन्त्रमा सुधार हुँदै जाने आधारमा यो प्रक्षेपण गरिएको हुनुपर्ने ढकालले बताए । ‘मलाई विश्वास छ, अब अर्थतन्त्र बिस्तारै लयमा फर्कंदै जानेछ । कोभिड महामारीपछिको पहिलो वर्ष चार र दोस्रो वर्ष पाँच प्रतिशत वृद्धि सम्भव हुनु नेपाली अर्थतन्त्र रेजिलेन्ट हुनुको उदाहरण हो ।’ ७ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि हुँदा तरलतामा चाप पर्ने भन्दै यसको उचित व्यवस्था गर्नसमेत ढकालले सरकारलाई सुझाव दिए ।