आत्महत्या प्रयासबारे गायक दुतराजले भने 'केही छिन हराउनु मर्नु हैन'

आत्महत्या प्रयास गरेको भनिएका गायक प्रकाश दुतराजले प्रस्टीकरण दिएका छन् ।

आत्महत्या प्रयासबारे गायक दुतराजले भने 'केही छिन हराउनु मर्नु हैन'
काठमाडौं । आत्महत्या प्रयास गरेको भनिएका गायक प्रकाश दुतराजले प्रस्टीकरण दिएका छन् । सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियामा रहेका दुतराजले आइतबार राति आत्महत्याको प्रयास गरेको खबर सार्वजनिक भएको थियो । तर, दुतराजले ‘गलत बुझाई तथा सूचनाका आधारमा समाचार प्रकाशित’ भएको बताएका छन् । ‘कहिले अध्यारो बन्द कोठाभित्र घण्टौँसम्म आफैलाई थुनिदिन्छु, हजारौं कोशिश गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन,’ उनले भनेका छन्, ‘यसलाई रोग भनु या मेरो विशेषता, यहि कारण पनि म आफूले आफैँलाई दुखी बनाउँछु । धेरै समाचारहरु हेरे, पढे अलिक अप्ठ्यारो असजिलो महसूस गरे । म केही छिन हराउनु म मर्नु हैन नि ।’ उनले अगाडि भनेका छन्, ‘कसरी मार्न सक्थे र यो शरीरलाई, गलत बुझाई तथा सूचनाका आधारमा प्रकाशित समाचारले मलाई माया गर्नु हुने सदा आशीर्वाद दिनुहुने हजुरहरू सबै सबैमा पर्न गएको असर प्रति क्षमा माग्दछु ।’