यौन दुर्व्यवहार मुद्दामा ट्रम्प दोषी ठहर, पीडितलाई ५० लाख अमेरिकी डलर क्षतिपूर्ति

ट्रम्पले उक्त रकम अफेयर सावर्जनिक नगर्न दिएकोसहित उनीविरुद्ध अदालतमा ३४ वटा मुद्दा चलिरहेका छन्। जो पुष्टि भएमा उनलाई अधिकतम् ४ वर्षको जेल सजाय हुनसक्छ।

यौन दुर्व्यवहार मुद्दामा ट्रम्प दोषी ठहर, पीडितलाई ५० लाख अमेरिकी डलर क्षतिपूर्ति
काठमाडौं । न्युयोर्कको एक अदालतले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ। अदालतले ट्रम्पलाई दोषी ठहर गर्दै पीडितलाई ५० लाख अमेरिकी डलर क्षतिपूर्ति दिन भनेको छ । तर यो ट्रम्पविरुद्ध पछिल्लो समय चलिरहेको चर्चित मुद्दा भने होइन। ट्रम्पमाथि सन् २०१६ कोन राष्ट्रपति चुनाव प्रभावित पार्न अमेरिकी पोर्नस्टार स्टर्मी डेनियललाई मौन बस्न १ लाख ३० हजार अमेरिकी डलर दिएको आरोप छ। ट्रम्पले उक्त रकम अफेयर सावर्जनिक नगर्न दिएकोसहित उनीविरुद्ध अदालतमा ३४ वटा मुद्दा चलिरहेका छन्। जो पुष्टि भएमा उनलाई अधिकतम् ४ वर्षको जेल सजाय हुनसक्छ। डेनियलपछि ट्रम्पसँग अर्की एक महिलाको नाम पनि जोडिएको थियो। करेन मेकडोगल नामकी अर्की महिलाले पनि आफ्नो सम्बन्धबारे मौन रहन भन्दै ट्रम्पले पैसा दिएको आरोप लगाएकी थिइन्। सिकागोस्थित प्लेब्वाई म्यागेजिनकी पूर्वमोडल मेकडोगलले आफू ट्रम्पसँग सम्बन्धमा रहेको दाबी गरेकी थिइन्। उनले ट्रम्पसँग १० महिना सम्बन्धमा रहेको बताएकी छन्। तर ट्रम्पले उक्त आरोप अस्वीकार गर्दै आएका छन्। यी सहितका मुद्दामा गत महिना ट्रम्प ५६ मिनेटमा अदालतमा प्रहरीको निगरानीमा बस्नुपरेको थियो। ट्रम्पमाथि लागेका यी गम्भीर मुद्दाको अन्तिम सुनुवाइ आगामी डिसेम्बरमा हुनेछ। मंगलवार न्युयोर्कको सिभिल कोर्टमा सुनुवाइ भएको ट्रम्पविरुद्धको मुद्दा भने सन् १९९० को हो। ई. जीन कैरल नामकी एक पत्रकारले सन् १९९० मा ट्रम्पले आफूलाई दुर्व्यवहार गरेको र उल्टै मानहानी गरेको आरोप लगाएकी थिइन्। पत्रकार समेत रहेकी क्यारोलले ९० को दशकमा ट्रम्पले बर्गडोर्फ गुडम्यान डिपार्टमेन्ट स्टोरको ड्रेसिङ रुममा आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन्। उक्त आरोपमा ट्रम्प मानहानी र दुर्व्यवहार मुद्दामा दोषी ठहर भएका हुन्। अदालतले बलात्कारको आरोपमा भने ट्रम्पलाई सफाइ दिएको छ। पूर्व राष्ट्रपति ट्रम्पले अदालती फैसलापछि कैरल नामकी युवतीसँग आफ्नो चिनजान समेत नभएको प्रतिक्रिया दिएका छन्। -एजेन्सी