६ महिनासम्म सुत्केरी बिदा दिने सरकारको तयारी

सरकारले महिलालाई ६ महिनासम्म सुत्केरी बिदा दिने तयारी थालेको छ ।

६ महिनासम्म सुत्केरी बिदा दिने सरकारको तयारी
काठमाडौँ । सरकारले महिलालाई ६ महिनासम्म सुत्केरी बिदा दिने तयारी थालेको छ । सरकारले यसअघि ९८ दिन पाउने व्यवस्था रहेको सुत्केरी बिदालाई बढाएर ६ महिनासम्म पुर्‍याउने गरी तयारी थालेको हो । स्तनपान गराउने महिलाको संख्या क्रमशः घट्दै गएको भन्दै सोको अभिवृद्विका लागि स्वास्थ्य विभाग अन्तर्गत रहेको परिवार कल्याण महाशाखाले थप तीन महिना बिदा दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको थियो । हाल मन्त्रालयले पनि सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनलाई पुर्नविचार गर्दै २०७५ को दफा १३ को उपदफा (१) संशोधन गर्नका लागि आवश्यक राय सुझावका लागि कानुन मन्त्रालय पठाइसकेको छ । उक्त ऐन संशोधन ड्राफ्ट करिब दुई हप्ता अगाडि नै स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालय गइसकेको बुझिएको छ ।