बागमतीमा सत्ता गठबन्धनभित्र भागबण्डा मिलेन

बागमती प्रदेशमा सरकार विस्तारको विषयमा सहमति हुन नसक्दा सत्ता गठबन्धनभित्र खटपट सुरु भएको छ ।

बागमतीमा सत्ता गठबन्धनभित्र भागबण्डा मिलेन
मकवानपुर । बागमती प्रदेशमा सरकार विस्तारको विषयमा सहमति हुन नसक्दा सत्ता गठबन्धनभित्र खटपट सुरु भएको छ । मन्त्रालयको संख्या र पावर सेयरिङमा सत्ता गठबन्धन दलहरुबीच सहमति हुन नसकेको हो । नेपाली कांग्रेसले सरकार विस्तारका लागि दिएको समयसीमा समाप्त भइसकेको छ । यद्यपि मुख्यमन्त्रीले नै सरकार विस्तारका लागि पहल भइरहेको भन्दै कांग्रेसलाई केही समय कुर्न भनेपछि तत्कालका लागि कांग्रेसले थप समय दिएको छ । अर्कोतिर नेकपा एकीकृत समाजवादीले आफूलाई सम्मानजनक स्थान नदिइए सरकार बाहिर बसेरै भूमिका निर्वाह गर्ने चेतावनी दिएको छ । प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको चटारो छ भने विगत ४५ दिनदेखि प्रदेशका ५ मन्त्रालय मन्त्रीविहीन अवस्थामा छन् । सरकार गठनको ४ महिना पूरा हुँदासमेत मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको भन्दै सरकारको आलोचना हुन थालेको छ । सरकारलाई पूर्णता दिन सत्तारुढ दलहरुबीच भागबण्डा मिल्न सकेको छैन । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलको नेतृत्वमा गत पुस २५ गते सरकार गठन भएको थियो । तत्कालीन गठबन्धनबाट सरकारलाई पूर्णता दिएर अघि बढेका मुख्यमन्त्री जम्कट्टेललाई राष्ट्रपति निर्वाचनपछि बनेको गठबन्धन मिलाउन कठिन भइरहेको हो ।