काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका नेकपा एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई खोज्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली परिचालन भएको छ।
रायमाझीको पनि संलग्नता देखिएको भन्दै उनीमाथि प्रहरीले अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट गत बुधबार पक्राउ अनुमति लिएको थियो।
त्यतिबेला उनी अर्घाखाँचीस्थित कार्यक्रममा सहभागी भइरहेका थिए। आफूविरूद्ध पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि काठमाडौंमा गएर प्रहरीको अनुसन्धानलाई सघाउने उनले बताएका थिए।
साँझ बुटवल पुगेका उनले रातिको काठमाडौं आउने फ्लाइट टिकट रद्द गरेका थिए। रद्द गरे पनि उनले बिहीबार दिउँसोसम्म आफैं जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित हुने जानकारी गराएका थिए।
सांसद समेत रहेका व्यक्तिले आफैं उपस्थित हुने बताएपछि प्रहरी पनि उनलाई कुरेर बसेको थियो। तर उनी नआएपछि उनको खोजी गर्न प्रहरी प्रधान कार्यालय नक्सालले सिआइबीलाई जिम्मा दिएको हो।
सिआइबीले गत शनिबारदेखि रायमाझीको खोजी गर्न थालेको हो। उनी कहाँ छन् भन्ने खुलिसकेको छैन।
तर भारतमा लुकेको हुनसक्ने भन्दै सिआइबीले त्यसअनुसार नै अनुसन्धान गरिरहेको उच्च स्रोत बताउँछ। उनी लखनऊमा लुकेको हुनसक्ने अनुमान छ। यद्यपि यो कुरा पनि पुष्टि भइसकेको छैन।
भुटानी शरणार्थीसम्बन्धी अनुसन्धान काठमाडौं परिसरले गरिरहे पनि रायमाझी पक्राउ गर्नलाई सिआइबीको टोली परिचालन भएको हो। यस्तै उनको खोजी गर्न प्रहरीले नियमित प्रक्रियाअनुसार ७७ वटै जिल्लामा पत्राचार समेत गरिसकेको छ।
एमाले सचिव टोपबहादुर रायमाझीलाई खोज्न सिआइबी परिचालन
साँझ बुटवल पुगेका उनले रातिको काठमाडौं आउने फ्लाइट टिकट रद्द गरेका थिए। रद्द गरे पनि उनले बिहीबार दिउँसोसम्म आफैं जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित हुने जानकारी गराएका थिए।

