काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका अव्यवस्थित तार हटाउन थालिएको छ। इन्टरनेट सेवा प्रदायक संस्था, नेपाल विद्युत् प्राधिकरण, दूर सञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौं उपत्यका प्रहरी र महानगर प्रहरी बलको टोलीले अव्यवस्थित तार हटाउन थालेको हो।
आइतबार इन्टरनेट सेवा प्रदायक संस्था, दूर सञ्चार प्राधिकरण र महानगरबीच अव्यवस्थित तार हटाउने सहमति भएको थियो। सोही सहमति अनुसार सोमबार बिहानदेखि हटाउन शुरू गरिएको हो। बिहान माइतीघर मण्डला र न्यूरोडगेटबाट तार हटाइएको थियो।
पहिलो चरणमा माइतीघर मण्डला, नयाँबानेश्वर, एअरपोर्ट, न्यूरोड, वसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गर्ने निर्णय भएको छ। ती क्षेत्रमा सेवा प्रदायकले आआफ्नो तारमा सङ्केत चिह्न लगाउने, चिह्न नलगाएका कारण तार काटिए सेवा प्रदायक नै जिम्मेवार हुनुपर्ने सहमति भएको छ।
काठमाडौं महानगरले वैशाख ११ गते सडक किनारामा गाडिएका बिजुलीका पोलमा छाडिएका अनावश्यक तार हटाउन र आवश्यक पर्ने तारमा सङ्केत चिह्न लगाउन १५ दिने सूचना जारी गरेको थियो।
काठमाडौं महानगरपालिकाभित्रका अव्यवस्थित तार हटाउन शुरू
काठमाडौं महानगरपालिकाभित्रका अव्यवस्थित तार हटाउन थालिएको छ।

