नक्कली भुटानी शरणार्थी प्रकरण : आरजु राणा र मञ्जु खाणकाे नाम मुछिएको अडिओमा के छ ?

उनीहरूले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पैसा उठाउने गिरोहसँग साढे आठ करोड लिएको दाबीसहितको अडियो सार्वजनिक भएको हो।

नक्कली भुटानी शरणार्थी प्रकरण : आरजु राणा र मञ्जु खाणकाे नाम मुछिएको अडिओमा के छ ?
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सांसद आरजु राणा देउवा र मञ्जु खाण मुछिएका छन् । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी राणा र गृहमन्त्री बालकृष्ण खाणकी श्रीमती मञ्जुले साढे दुई करोड र ६ करोड रकम लिएको दाबी गरिएको अडिओ सार्वजनिक भएपछि उनीहरू मुछिएका हुन् । उनीहरूले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पैसा उठाउने गिरोहसँग साढे आठ करोड लिएको दाबीसहितको अडियो सार्वजनिक भएको हो। के छ अडिओमा ? कम्तीमा तीनजनाले संवाद गरेको उक्त अडियोको करिब १५ देखि २० मिनेटको पूरा संवाद विवरण अनुसन्धानरत प्रहरीसँग रहेको बताइएको छ। तर त्यसको १ मिनेट ३ सेकेन्डको अडिओ क्लिपले खाँण र देउवा परिवारलाई पनि मुछेको छ। उक्त अडिओमा पूर्वप्रधानमन्त्री देउवा पत्नी आरजु राणा र पूर्वगृहमन्त्री बालकृष्ण खाण पत्नी मञ्जुले करोड करोड लिएको संवाद सुन्न सकिन्छ। यो अडिओलाई लिएर प्रहरीले पनि अनुसन्धान अघि बढाएको छ। प्रहरीले यसको आधिकारिकता जाँचलाई अनुसन्धानकै एक अंगका रुपमा अघि बढाइएको जनाएको छ। ‘जाहेरवालाले १५ २० मिनेटको अडिओ हामीकहाँ बुझाएका छन्। यसमा जसको नाम लिइएको छ उनीहरुको संलग्नता खुल्दैन। उनीहरुले भनेअनुसार संलग्नता हो कि होइन हामी परीक्षण गर्दैछौँ। आरोप मात्रै लगाइएको हो कि प्रमाणले पनि पुष्टि गर्छ त्यो हेरिन्छ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने। अडिओमा संवादका क्रममा आरजुले साढे दुई करोड रुपैयाँ र मञ्जुले घरमै ६ करोड रुपैयाँ लिएको दाबी गरिएको छ । सुरुमा टिकटकमा सार्वजनिक भएको यो अडिओ अहिले ट्विटर र फेसबुकमा पनि भाइरल भइरहेको छ। नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिने बहानामा करोडौं उठाएको एक समूहबाट आरजु र मञ्जुले साढे आठ करोड रुपैयाँ बुझेको उक्त अडिओमा उल्लेख छ। उक्त प्रकरणमा संलग्न गिरोहले अडिओको सुरुमा कर्मचारी प्रमुख जिल्ला अधिकारीहरुको सरुवाले आफूहरु हैरान भएको बताएको सुन्न सकिन्छ। उनीहरुले काम हुने प्रलोभनमा आफूहरुलाई दुहुनो गाई बनाइएको भन्दै तीतो पोख्छन्। ‘यसो काम सकिन आँट्यो भन्यो प्रजिअको सरुवा गरिदिजान्छ, ल है काम भयो भन्यो भोलि त सरुवार गरिजान्छ’, सुरुमा एकजना यसरी गुनासो गर्छन्, ‘पर्सिदेखि काम सुरू भयो भन्यो झ्वाम्म खाइदिएर सिडिओ सरुवा भइजान्छ। कति सरुवा गर्न सक्या। नियतले नै हो कि त दाइ। के काम हुन्छ त रातारात सरुवा गरिदिएपछि। दुहुनो गाई भयौँ हामी त।’ त्यसपछि संवाद अझै अघि बढ्छ। जब संवाद अघि बढ्दै जान्छ, दोस्रो तेस्रो व्यक्तिको संवाद त्यहाँ थपिन्छ। काम नभएपछि आजित भएका एकजनाले अब अति भएकाले मिडिया बोलाउने तयारी गरेको पनि उक्त संवादमा सुन्न सकिन्छ। ‘खाने मात्रै छन्। भोलि मिडिया पनि बोलाउँछु भन्नु तपाईंले’, एकजनाले भन्छन्, ‘भोलि मिडिया पनि बोलाउँछु भन्नु तपाईंले मिडियासँग सबै कुरा राख्छु यो हप्ताभरी काम भएन भने भनेर भन्नु, त्यही हनुमान ढोकाअगाडि पत्रकार बोलाउँछु भन्नु ।भोलि मिडिया पनि बोलाउँछु भन्नु तपाईंले, किनभने मलाई कसैको डर छैन क्या ! ’ अडिओमा प्रजिअको पटक पटक सरुवाले हैरान एक व्यक्तिको गुनासोपछि त्यसमा उनीहरुले कांग्रेस नेतृहरु आरजु र मञ्जुको प्रसंग निकाल्छन्। एकजनाले आफूले आरजुलाई साढे २ करोड रुपैयाँ र मञ्जुलाई घरमै पुगेर साढे ६ करोड रुपैयाँ बुझाएकोसमेत कुरा निकाल्छन्। ‘आरजु राणालाई साढे दुई करोड रुपैयाँ बुझाएकै हो’, त्यसक्रममा दोस्रो व्यक्ति भन्छन्, ‘६ करोड रुपैयाँ हनुमाथानमा बालकृष्ण खाँणलाई बुझाएका हौँ। मञ्जु खाँणले बुझेकै हुन्। त्यो हनुमान थानको भित्रपट्टि लगेर बुझाएका हौँ। प्रमाण मसँग छ नि ! ’ उक्त अडिओ जाहेरवालाले नै अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई पनि बुझाइसकेका छन्। प्रहरीले यसको तथ्य जाँचलाई अघि बढाइएको जानकारी दिएको छ। उक्त अडिओमा मञ्जुलाई अनामनगरस्थित हनुमानथान पछाडिको घरमा गएर ६ करोड दिइएको भनिएको छ। तर मञ्जु खाणले भने आफू चार वर्षदेखि चाबहिलमा बस्दै आएको बताएकी छन्। अडिअाे 

मलाई केहि डर छैन, आरजु देउबालाइ साढे दुइ करोड, ६ करोड बालकृष्ण मंजु दिदीले घरमा बुझ्या हो, मलाई कस्तो भयो होला दाइ त्यो कुरा छोडदिनुन,

आर्जु देउवा ,बालकृष्ण खांड लाइ पैसा बुझाएको अडियो बाहिर आउंदा यो सरकार ले किन टोपबहादुर लाइ मात्र पक्राउ पुर्जी जारी गरेको?@cmprachanda pic.twitter.com/qNY0Fh6EET — Manish Pyakurel (@hellosimara) May 7, 2023