काठमाडौँ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठक सिंहदरबारमा सुरु भएको छ । आइतबारदेखि सुरु हुने बजेट अधिवेशनको पहिलो बैठकका एजेन्डाबारे निर्णय गर्न बैठक बसेको हो । संसद् बैठक अपराह्न ४ बजे बैठक बस्नेछ ।
संसद् सचिवालयका अनुसार अधिवेशनको पहिलो दिन मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेस हुनेछ । अर्थमन्त्री प्रकाशशरण महतले आउँदो आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्दै छन् । आगामी आर्थिक वर्षको बजेट जेठ १५ मा संसद्मा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ ।
त्यसअघि नै वार्षिक नीति तथा कार्यक्रम पेस हुनेछ । बजेटपूर्वको छलफल वैशाख २७ सम्ममा सक्ने सरकारको योजना छ । सभामुख देवराज घिमिरेले आउँदो अधिवेशनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर शुक्रबार राजनीतिक दलहरूका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।
एक सय १० दिन चलेको पहिलो अधिवेशनमा ९२ घण्टा ३० मिनेट बैठक बसेको थियो तर एउटा पनि विधेयक पारित हुन सकेन । प्रतिनिधिसभाको नियमावली पारित गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहालले दुई पटक विश्वासको मत लिनेबाहेक केही उल्लेख्य काम हुन सकेन ।
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठक सिंहदरबारमा सुरु भएको छ ।

