एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई तीन दिन हिरासतमा राख्न अनुमति

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई तीन दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। नेपालीलाई भुटानी नागरिक बनाएर अमेरिका पठाउने कार्यमा संलग्नताको आरोपमा प्रहरीले सन्दीपलाई बुधबार बुटवलबाट पक्राउ गरेको थियो । उनलाई बिहीबार बिहान काठमाडौं ल्याएर प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको हो । अदालतबाट उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएसँगै अब काठमाडौं प्रहरी परिसरको हिरासतमा राखेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ । बुधबार नै पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन टोपबहादुर रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । टोपबहादुर भने अहिलेसम्म पक्राउ परेका छैनन् । मंगलबार मात्र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्‍द्रजित राई पक्राउ परेका थिए । यसअघि पक्राउ परेका व्यक्तिहरूले बयानमा राईलाई पनि रकम बुझाएको खुलेपछि उनलाई पनि पक्राउ गरिएको हो । यो प्रकरणमा प्रहरीले यसअघि केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, सन्देश शर्मा र सागर राईलाई पक्राउ गरिसकेको छ ।