सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा,तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा,तोलाको कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यसअघि २०७९ चैत २२ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा आठ सय रुपैयाँ बढी हो। अघिल्लो कारोबार दिन अर्थात् बुधबार तोलामा एक हजार आठ रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार दुई सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।