नेपाल र यूएईको खेल भोलि बिहान ९ बजेदेखि हुने

नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो । बिहान ११ बजेर ५० मिनेट जाँदा दोस्रो पटक खेल रोकिएको थियो ।

नेपाल र यूएईको खेल भोलि बिहान ९ बजेदेखि हुने
काठमाडौं । नेपाल र यूएईबीचको एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेलले भोलि (मंगलबार) हुने भएको छ । मंगलबार बिहान ९ बजेदेखि खेल सुरु हुनेछ । सोमबार वर्षाले खेल बिथोलिन पुग्यो । नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो । बिहान ११ बजेर ५० मिनेट जाँदा दोस्रो पटक खेल रोकिएको थियो । दिउँसो ३ बजेर ३० मिनेटसम्म पनि वर्षा नरोएिकपछि बाँकी खेल मंगलबार हुने म्याच रेफ्री सिंगापुरका सारिका प्रसादले घोषणा गरे । यूएईले यही स्थितिबाट वैकल्पिक दिन राखिएको मंगलबारको खेल सुरु गर्नेछ । खचाखच दर्शकले भरिएको त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले सुरुवातदेखि नै यूएईलाई दबाबमा राखेको थियो र निरन्तर विकेट लिँदै मध्यम लक्ष्य पाउन सफल भयो । चौथो ओभरको पहिलो बलमै सोमपाल कामीले मोहम्मद वासिमलाई ११ रनमा आउट गरेपछि नेपालले विकेट लिने क्रम सुरु गरेको थियो । त्यसको अर्को ओभरमा करण केसीले वृत्या अर्विन्दलाई ८ रनमा आउट गरि नेपाललाई ठुलो सफलता दिलाएका थिए । करणले नै आर्यन लर्कालाई १३ रनमा पहिलो स्लिपमा क्याच गराए । रमिज सेहजादलाई ललित राजवंशीले १ र पूर्व कप्तान रोहन मुस्ताफालाई सन्दीप लामिछानेले २ रनमा आउट गरेपछि यूएई १४ औं ओभरमा ५१–५ को स्थितिमा पुगेको थियो । आसिफ खान र बसिल अहमदले छैटौं विकेटमा ३९ रनको साझेदारी गरे । यो बीचमा वर्षाले खेल आधा घन्टा अवरुद्ध पारेको थियो । गुलशन झाको बलमा इनसाइड एज लागेर बोल्ड भएका बसिलले २७ बल खेली १ चौकासहित १० रन बनाए । आयन खानले ५ रनमा सन्दीप लामिछानेले आउट गरे । ललितले आसिफ र जाहुर खानलाई लगातार बलमा आउट गरे ।