आठ वर्षपछि तातोपानी नाकाबाट निर्यात खुल्ला

नेपाल–चीनबिचको सबैभन्दा ठुलो उत्तरी सीमा तातोपानी नाकाबाट आठ वर्षपछि चीन तर्फ निर्यात खुलेको छ ।

आठ वर्षपछि तातोपानी नाकाबाट निर्यात खुल्ला
सिन्धुपाल्चोक । नेपाल–चीनबिचको सबैभन्दा ठुलो उत्तरी सीमा तातोपानी नाकाबाट आठ वर्षपछि चीन तर्फ निर्यात खुलेको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले दुवै देशबाट आयात–निर्यात खुल्दै नाका सञ्चालनमा आएको जानकारी दिए। दुवै देशमा मालवाहक कन्टेनर आउजाउ हुन थालेका छन् । चीन र नेपालका सुरक्षा निकायको उपस्थितिमा दुवै देशबाट आयात–निर्यात खुलेको छ । आज मितेरी पुलबाट तीन वटा कन्टेनरबाट चीनतर्फ मुडा, जुट, म्याट्रिक्स र हस्तकलाकाका सामाग्री पठाएर निर्यात खुलाइएको प्रजिअ न्यौपानेले बर्ताए । उक्त तीन कन्टेनर अहिले मितेरी पुल काटेर चिनियाँ भू–भागको झाङ पोर्ट, पार्किङ पुन निमार्ण भइरहेको बजार इलाका भेगमा पुगेको छ । २०७२ वैशाख १२ गतेको भूकम्पको चार वर्षपछि उक्त नाका २०७६ जेठ १५ देखि आंशिक रूपमा सञ्चालनमा आएको थियो । भूकम्पअघि उक्त नाकाबाट हस्तकलाका सामाग्री, वनस्पति, जडीबुटी, चाउचाउ लगायतका १८२ प्रकारका सामाग्री निर्यात हुदैं आएको थियो । तातोपानी नाका पूर्ण रूपमा सञ्चालनका लागि गत फागुन ४ गते, चैत ६ गते नेपालबाट जिल्ला प्रशासन कार्यालय, अध्यागमन कार्यालय, जिल्लाका सुरक्षा निकाय, तातोपानी भन्सार कार्यालय र चीनको न्यालय काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन लगायतका अधिकारी बिच सीमा क्षेत्रमा बैठक भएको थियो । उक्त बैठकमा नाकाबाट हुने अवान्छित गतिविधि, आपराधिक गतिविधि लगायतका समस्या हटाउने विषयमा छलफल भएको थियो । चैत १५ मा जनवादी गणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासामा सम्पन्न नोपल–चीनको उच्च स्तरीय संयन्त्रको बैठकमा तातोपानी नाका पूर्ण रूपमा खोल्ने सहमति भएको थियो । वैशाख ४ गते सम्पन्न नेपाल–चीनका सरकारी अधिकारीबिच निर्यात खोल्ने सहित ६ बुँदे सहमति भएको थियो । चैत २८ गते चीनले भौतिक निमार्ण पूर्वाधारमा नापतौल काँटा राख्ने भन्दै चीनले एक साताका लागि नाका पूर्ण रूपमा बन्द गरेको थियो । वैशाख १७ गते सम्म खासाबाट दैनिक १० सङ्ख्यामा मालवाहक कन्टेनर नाका भित्रँदै आएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख अधिकृत दयानिधि केसीले बताएका छन् ।