नीरा पाण्डे हत्याका आरोपित सार्वजनिक

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नीरा पाण्डे आचार्यको हत्याको आरोपमा पक्राउ परेका एकजनालाई सार्वजनिक गरेको छ ।

नीरा पाण्डे हत्याका आरोपित सार्वजनिक
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नीरा पाण्डे आचार्यको हत्याको आरोपमा पक्राउ परेका एकजनालाई सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सीआईबीले विनोद विकलाई सार्वजनिक गरेको हो । सीआईबीका प्रवक्ता एवं एसपी सञ्जय सिंह थापाका अनुसार विक ठमेलको एउटा क्लबमा बाउन्सरका रूपमा कार्यरत थिए । अनुसन्धानका क्रममा घटनास्थलको वरिपरि सीसीटीभी फुटेजमा देखिएका व्यक्ति पछ्याउँदै जाँदा विकको संलग्नता रहेको पुष्टि भएको थापाले बताए । विकको कोठाबाट हत्याको समयमा लगाइएको लुगा, चक्कुसहितको ब्याग बरामद भएसँगै उनलाई पक्राउ गरिएको एसपी थापाले जानकारी दिए ।प्रारम्भिक अनुसन्धानमा विकले आफूले हत्या गरेको स्वीकार गरिसकेको थापा बताउँछन् । हालसम्मको अनुसन्धानमा हत्याको प्रमुख कारण, अरू कोही सहभागी थिए वा थिएनन्लगायत विषय खुल्न नसकेको उनले बताए ।