विश्वासको मत लिने तयारीमा लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् ।

विश्वासको मत लिने तयारीमा लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री  चौधरी
बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । वैशाख १४ गते मुख्यमन्त्री बनेका चौधरीले विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा आज पत्राचार गरिसकेका छन् । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभ पुन मगरका अनुसार मुख्यमन्त्री चौधरीले बिहान १० बजे विश्वासको मत लिने सम्बन्धमा पत्र दर्ता गराएका हुन् । पत्र दर्ता भएको ४८ घण्टापछि विश्वासको मत लिन सकिन्छ । लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ मा प्रदेशसभामा विश्वासको मत लिने सम्बन्धी पत्र दर्ता गरेको ४८ घण्टापछि मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिन सक्ने व्यवस्था छ । यस आधारमा मुख्यमन्त्री चौधरीले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने सम्भावना छ । चौधरी नेतृत्वको सरकारमा ३ जना बिना विभागीय मन्त्री छन् । अहिले बिना विभागीय मन्त्रीका रुपमा माओवादीका धनबहादुर मास्की, जसपाका सन्तोष पाण्डेय, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी छन् । प्रदेशमा नेपाली कांग्रेस र माओवादी सहित सत्तारुढ गठबन्धनमा ८ दल छन् । गठबन्धनमा रहेका सबैजसो दल सरकारमा सहभागी हुन इच्छुक रहेकाले मन्त्रालयको संख्या थपेर भए पनि भागबन्डा मिलाउनुपर्ने बाध्यता छ । कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र माओवादी संसदीय दलका नेता जोखबहादुर महराले शीर्ष नेताहरूकै उपस्थितिमा मुख्यमन्त्रीमा आधाआधा कार्यकाल लिने सहमति गरेका छन् । सोही आधारमा चौधरीलाई पहिलो चरणमा मुख्यमन्त्री बनाउन माओवादी सहमत भएको हो । यी दुई दलमध्ये कांग्रेसलाई मुख्यमन्त्रीसहित ४ र माओवादीलाई तीन मन्त्रालय दिने गरी गठबन्धन दलमा अनौपचारिक समझदारी बनेको छ ।