गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा प्राविधिक उडान परीक्षण भएको छ । रेसुङ्गा नगरपालिका १० मा रहेको सिमिचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको एअरको नाइनएन एबीटी जहाजले बिहान ७ बजेर ३९ मिनेटमा परीक्षण उडान गरिएको हो । निगम र रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि निगमले परीक्षण उडान गरेको हो ।
२०६३ सालदेखि निर्माणकार्य सुरु गरिएको विमानस्थलको १६ वर्षपछि निर्माणकार्य सम्पन्न भएको हो । कुल ३३ करोड लागतमा निर्माण सम्पन्न भएको विमानस्थलको लम्बाइ पाँच सय २० मिटर र चौडाइ २० मिटर रहेको छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुङ्गा विमानस्थल समुद्र सतहदेखि १५ सय २६ मिटरको उचाइमा रहेको छ । यो उडान रेगुलर कमर्सिएल उडानभन्दा अगाडि गर्नुपर्ने उडान रहेको वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेलले बताएका छन् ।
‘यसमा फ्लाइट प्याचर, इञ्जिनियर, पाइलट, एअर नेभिगेटर लगायतको प्राविधिक टोलीले कुन एङ्गलबाट ल्याण्ड गर्न सजिलो हुन्छ, कति हावा लाग्छ, कति लोड लिन सकिन्छ, कताबाट टेक अफ गर्न सजिलो हुन्छ भन्ने विषयमा आज मापन गरेको छ’, उनले भने ।
उनका अनुसार कति यात्रु ल्याउन र लैजान सकिन्छ भन्ने विषयमा अध्ययन गरेपछि मात्र भाडा दर निश्चित हुने भएको छ । रेसुङ्गा काठमाण्डौ उडानको भाडा अहिले सरदर ६ हजार ५ सय रूपैयाँ हुने भनिए पनि अन्तिममा ६ हजार रुपैयाँसम्म कायम हुन सक्ने उनको भनाइ छ । ‘१५ देखि १७ जना यात्रु बोक्न सके ६३ सयदेखि ६ हजार रुपैयाँसम्म हुन्छ’, कँडेलले बताए ।
निगमका क्याप्टेन मनिष विष्टले आफूहरूले बढीमा एक हप्ताभित्र नागरिक उड्डयन प्राधिकरणलाई आजको उडान प्रतिवेदन बुझाएपछि नियमित उडान हुने बताए । ‘उडान अवतरण सफल रहेको हामीले पायौँ, अब हामीले प्राधिकरणलाई प्रतिवेदन बुझाएपछि बढीमा एक हप्तामा नियमित उडान हुन्छ’, उनले भने । रेसुङ्गा विमानस्थलमा यसअघि २०७५ जेठ २५ मा धुले परीक्षण उडान गरिएको थियो ।
रेसुङ्गा विमानस्थलमा वायुसेवा निगमको व्यावसायिक उडान अघि परीक्षण उडान
गुल्मीको रेसुङ्गा विमानस्थलमा प्राविधिक उडान परीक्षण भएको छ ।

