बागलुङ। बागलुङको निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्ती मगरले निजी विद्यालयबाट छोराछोरीलाई निकाली सामुदायिक विद्यालयमा भर्ना गरेका छन् ।
नयाँ शैक्षिकसत्र शुरुसँगै उपाध्यक्ष घर्ती मगरले छोराछोरीलाई निसीखोला गाउँपालिका–५ मा रहेको ज्ञानेन्द्र माध्यमिक विद्यालयमा भर्ना गरेका हुन् ।
उपाध्यक्ष घर्तीमगरले ११ वर्षका छोरा ग्लजिन घर्तीमगरलाई कक्षा ६ र ५ वर्षकी छोरी इला घर्तीमगरलाई कक्षा १ मा भर्ना गरेका हुन् ।
‘सामुदायिक विद्यालयमा सरकारको धेरै लगानी छ, हामी स्थानीय सरकारले पनि सार्वजनिक शिक्षामा कसरी गुणस्तर कायम गर्न सकिन्छ भनेर योजना पनि बनाइरहेका छौं,’ उपाध्यक्षले भने, 'निजी भन्दा सार्वजनिक विद्यालय जनशक्ति र पूर्वाधारको हिसाबले अब्बल छन् ।’
सार्वजनिक विद्यालयमा पढाई राम्रो छैन भन्ने भ्रम पारिएको बताउँदै त्यसलाई चिर्न सरकारी विद्यालयप्रतिको विश्वास बढाउनुपर्ने बताए ।
‘निजी विद्यालयमा मासिक १० देखि १५ हजार खर्च हुँदै आएको थियो,’ उनले भने, ‘ सार्वजनिक विद्यालयमा खर्च पनि कम हुने र पढाई पनि राम्राे हुने भएपछि सरकारीमै भर्ना गरें ।’
बागलुङको निसीखोलामा रहेको ज्ञानेन्द्र माध्यमिक विद्यालय नमुना विद्यालय पनि हो ।
विद्यालयमा 'पढ्दै कमाउँदै' कार्यक्रम, प्राविधिकतर्फ पशु भेटेनरी एवम् 'प्लस टु' मा शिक्षा तथा मानविकीशास्त्र पढाई हुँदै आइरहेकाे छ । हाल विद्यालयमा ७ सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।
निसीखोलाका उपाध्यक्ष घर्तीले निजीबाट निकालेर सरकारीमा भर्ना गरे छोराछोरी
नयाँ शैक्षिक सत्र शुरुसँगै उपाध्यक्ष घर्ती मगरले छोराछोरीलाई निसीखोला गाउँपालिका–५ मा रहेको ज्ञानेन्द्र माध्यमिक विद्यालयमा भर्ना गरेका हुन् ।

