काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वतीनगरमा भाडा पसल सञ्चालन गर्दै आएकी बागलुङ बडिगाडकी निरा पाण्डे आचार्यको हत्यामा आशंकित एक व्यक्तिको तस्बीर फेला परेको छ ।
उपत्यका अपराध अनुसन्धान महाशाखाका एसपी रवीन्द्र रेग्मीका अनुसार घटनास्थल नजिकैको एक सिसिटिभी फुटेजमा सोही तस्बिर भेटिएको हो ।
‘फुटेज अध्ययनका क्रममा घटनामा संलग्नताका केही आधारसहित एक व्यक्तिको हुलिया खुलेको छ । तर, ती व्यक्ति को हुन् ? एक्लै वा समूहमा थिए ? हतियार व्यवस्थापनको अवस्था के हो ? जस्ता विषयहरु यकिन भएको छैन' रेग्मीले भने ।
घटनाको कारणबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको उनको भनाइ रहेको छ । सोही घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकुले इन्स्पेक्टर राजन लामा नेतृत्वको टोली परिचालन गरेको छ ।
परिसरका एसएसपी दानबहादुर कार्कीले विभिन्न किसिमबाट प्राप्त भएका सूचनाका आधारमा अनुसन्धान भइरहेको बताए ।
‘घटनाको अनुसन्धान गर्ने अपराध महाशाखासहित स्थानीय प्रहरी वृत्त, प्रभागहरुसँग समन्वय गरेर हामी छिट्टै घटनाको कारण सार्वजनिक गर्ने छौं’, उनले भने ।
७ वैशाखमा सरस्वतीनगरस्थित निरु भाडा पसलमा सञ्चालिका पाण्डेमाथि छुरा प्रहार गरी हत्या भएको थियो ।
दिउँसो ३ बजे स्थानीय एक महिला उक्त पसलमा पुगेपछि पाण्डेलाई रगताम्य भई ढलेको अवस्थामा फेला पारेकी थिइन् । तत्कालै उनलाई त्रिवि शिक्षण अस्पतालमा लगेपनि डाक्टरले मृत घोषणा गरेका थिए ।
निरा पाण्डे हत्याकाण्ड : सिसिटिभी फुटेजमा देखियो एक व्यक्तिको तस्बिर !
दिउँसो ३ बजे स्थानीय एक महिला उक्त पसलमा पुगेपछि पाण्डेलाई रगताम्य भई ढलेको अवस्थामा फेला पारेकी थिइन् । तत्कालै उनलाई त्रिवि शिक्षण अस्पतालमा लगेपनि डाक्टरले मृत घोषणा गरेका थिए ।

