बाफलकाे गार्मेन्ट उद्योगमा आगालागी : बेपत्ता भनिएका व्यक्ति जलेको अवस्थामा भेटिए

शनिवार राति ९ः ३० बजे काठमाडौं महानगरपालिका–१३ बाफलचोकनजिक नारायणी पेट्रोल पम्पपछाडि श्यामकृष्ण महर्जनको दुईतल्ले टिनको टहरामा रहेको गार्मेन्टमा आगलागी भएको थियो ।

बाफलकाे गार्मेन्ट उद्योगमा आगालागी : बेपत्ता भनिएका व्यक्ति जलेको अवस्थामा भेटिए
काठमाडौं । बाफलस्थित एक गार्मेन्टमा भएको आगलागीस्थलमा एक व्यक्तिको दाहिने खुट्टाको पैँतलाको भाग जलेको अवस्थामा फेला फेला परेको छ । शनिवार राति ९ः ३० बजे काठमाडौं महानगरपालिका–१३ बाफलचोकनजिक नारायणी पेट्रोल पम्पपछाडि श्यामकृष्ण महर्जनको दुईतल्ले टिनको टहरामा रहेको गार्मेन्टमा आगलागी भएको थियो । त्यहाँ एक व्यक्तिको शरीरको भाग जलेको अवस्थामा फेला परेको हो । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार मकवानपुरका निश्चल अग्रवालले सञ्चालन गरेको गार्मेन्ट उद्योगमा आगालागीपश्चात् प्रहरी टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो । गार्मेन्टमा रहेका कपडा, उपकरणलगायत सामग्री जलेर नष्ट भएको छ भने मानिसको शरीरको दाहिने खुट्टाजस्तो देखिने पैँतलाको भाग जलेको अवस्थामा फेला परेको रिजालले बताए । उक्त जलेको भागलाई आवश्यक अनुसन्धानका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । सोही कारखानामा चालकको रूपमा काम गर्ने दोलखाका २० वर्षीय भूपेन्द्र बस्नेत भने सम्पर्कविहीन भएको बताइएको छ । आगलागी के कारणले भयो भन्नेबारे अनुसन्धान भइरहेको र आगलागीको क्षतिसमेत संकलन भइरहेको उनले जानकारी दिए ।