बागलुङ ।
नेकपा एमालेबाट बागलुङ क्षेत्र नम्बर २ प्रतिनिधिसभा उम्मेदवार मञ्जु शर्मालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
निर्वाचन प्रसार प्रचारको क्रममा निर्वाचन आचारसंहिता विपरित तमानखोला गाउँपालिकामा बाजा बजाएको, मतदाताहरुलाई नगद पैसा बाँडेको, जस्तापाता वितरण गर्न बोलेको, चामल बाँडेकालगायतका विषयमा निवदेन परेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।
आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि असोज १२ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ ।
आयोगले भनेको छ “निर्वाचन आचारसंहिता विपरित तमानखोला गाउँपालिकामा बाजा बजाएको, मतदाताहरुलाई नगद पैसा बाँडेको जस्तापाता वितरण गर्न बोलेको, चामल बाँडेकोलगायतका गतिविधि गरेको हुनाले कारबाही गरिपाउँ भन्ने निवेदन पर्न आएकाले सो कार्य तपाई आफै वा तपाईको निर्देशनमा भए गरेको होइन भन्ने आधार नदेखिएको तथा तपाईबाट निर्वाचन आचारसंहिताको उल्लंघन भएको अवस्था भए कसूरमा तपाईलाई कारबाही किन गर्नु नपर्ने हो ? यदी होइन भने पुष्टयाई गर्ने आधार र प्रमाण के छ ? सो पत्र प्राप्त भएको २४ घण्टा भित्र आफै उपस्थित भै वा आफ्नो प्रतिनिधिमार्फत सो विषयमा निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा स्पष्टीकरण पेश गर्नुहोला ।”



