एसीसी प्रिमियर कप : साउदी अरबको पहिलो जित

साउदी अरबले एसीसी प्रिमियर कप क्रिकेटमा पहिलो जित निकालेको छ ।

एसीसी प्रिमियर कप : साउदी अरबको पहिलो जित
काठमाडौं। साउदी अरबले एसीसी प्रिमियर कप क्रिकेटमा पहिलो जित निकालेको छ । समूह ‘ए’ अन्तर्गत त्रिवि मैदानमा शनिबार भएको खेलमा साउदीले कतारलाई सात विकेटले हरायो । जितका लागि कतारले दिएको दुई सय १७ रनको लक्ष्य साउदीले ३४.२ ओभरमा तीन विकेटको क्षतिमा दुई सय २० रन जोड्दै पूरा गरेको थियो । साउदीको जितमा अब्दुल वाहिदले एक सय २४ रनको शतकीय इनिङ्स खेलेका थिए । उनले एक सय आठ बलमा २१ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाएका हुन  । यस्तै वाकर उल हसनले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान हिशाम शेखले अविजित २१ रन बनाएका थिए । बलिङमा कतारका लागि इक्रमुल्लाह खानले दुई विकेट लिए। खुरम शाहजादले एक विकेट झारेका थिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कतारले ४९.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १६ रन बनाएको थियो ।कतारका लागि मोहम्मद तनविरले सर्वाधिक ४६ रन बनाएका हुन् । ओपनर कमरान खाने ३६, इमाल लियाङ्गेले ३१ कप्तान मोहम्मद रिजलानले २८ र इक्रामउल्लाह खान १४ बनाए । बलिङमा साउदीका इश्तिक अहमदले चार विकेट लिएका थिए । अतिफ उर रहमान, जैन उल अबिदीन र अहमद बलाडार्फले दुई दुई विकेट लिए । समूहमा पहिलो जितसँगै साउदीले दुई अंक बनाएको छ । लगातार दोस्रो हार खेपेको कतारले अंकको खाता खोल्न सकेको छैन । यस समूहमा नेपाल चार अंकसहित शीर्षस्थानमा छ । यसैगरी मूलपानी मैदानमा भएको समूह ‘बी’ को खेलमा कुवेतले बहराइनलाई दुई विकेटले पराजित गरेको छ ।