बारा । बारामा एक युवकको हत्या गरी फरार रहेका दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पर्साको वीरगन्जका रामु भनिने कैलाश महतो र उनकी श्रीमती रोशनी भनिने हिरा देवीलाई पक्राउ गरेको हो ।उनीहरुले गत मंसिर २७ गते बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ राजानगर टोलमा बस्ने सुरज भनिने महेश साहको हत्या गरेका थिए ।
हत्यापछि फरार भएका उनीहरुलाई नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो । उनीहरुमाथि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घटनाअघि प्रतिवादी रोशनी र मृतक सुरज रोशनीको कोठामा लिभिङ टुगेदरमा बस्दै आएका थिए ।
यहीबीचमा सुरज र रोशनीबीच विवाह गर्ने कुरा भएको तर रोशनीको पहिला नै विवाह भएको थियो । यो कुरा थाहा पाएका सुरजका परिवारले बिहे अस्वीकार गरेका थिए ।उनको पहिले बिहे भएका श्रीमानसँग राम्रो सम्बन्ध नभएको बताइएको छ । यहीबीचमा मंसिर २७ गते राति रोशनी र सुरजलाई श्रीमान् कैलाश महतोले साथमा फेला पारेका थिए ।
सो क्रममा सुरज र महेश साहबीच विवाद उत्पन्न हुँदा उनको हत्या भएको थियो । हत्यामा पहिले लिभिङ टुगेदरमै बस्दै आएपनि श्रीमानलाई रोशनीले पनि सघाएको खुलेको प्रहरीको भनाइ छ ।हत्यापछि परालको भुषमा शव लुकाएर दुबै जना फरार भएका थिए । उनीहरु भागेर भारतको बिहार, दिल्ली हुँदै केरला मलप्पुरम जिल्लासम्म पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनीलाई केरला प्रहरीसँग समन्वय गरी खोज तलास गरिरहेको बेला वैशाख ६ गते नेपाल र भारतको सिमाना नजिकबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
लिभिङ टुगेदर, पछि श्रीमानसँगै मिलेर युवकको हत्या
बारामा एक युवकको हत्या गरी फरार रहेका दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ ।

