आन्दोलनकारीले निषेधित क्षेत्र तोडेपछि विराटनगरमा सुरक्षाकर्मीसँग झडप

पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने र प्रदेशको नाम कोसी खारेज गर्नुपर्ने मागसहित आन्दोलनरत पहिचान पक्षधर र सुरक्षाकर्मीबीच विराटनगरमा शनिबार दिउँसो झडप भएको छ।

आन्दोलनकारीले निषेधित क्षेत्र तोडेपछि विराटनगरमा सुरक्षाकर्मीसँग झडप
विराटनगर । पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने र प्रदेशको नाम कोसी खारेज गर्नुपर्ने मागसहित आन्दोलनरत पहिचान पक्षधर र सुरक्षाकर्मीबीच विराटनगरमा शनिबार दिउँसो झडप भएको छ। विराटनगरको रोडशेष चोकमा झडप भएको हो। त्यस क्रममा स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीबाट केही शेल अश्रुग्यास प्रहार भएको छ। यद्यपि, घटनाका बारेमा विस्तृत विवरण प्राप्त भइसकेको छैन। पहिचानवादीहरू आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू ‘लाजेहाङ’ शव श्रद्धाञ्जलीका लागि विराटनगर लिएर आएका थिए। शवलाई श्रद्धाञ्जलीका लागि रोडशेष चोकमा राख्ने भनिएको थियो। ‘लाजेहाङ’को शवयात्राका क्रममा निषेधित क्षेत्र तोडेर शवयात्रामा सहभागीहरू अघि बढ्न खोजेपछि झडप भएको सुरक्षा निकायले जनाएको छ। शवयात्रालाई लक्षित गर्दै रोडशेष चोकबाट लगभग २ सय मिटर दक्षिणमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर सुरक्षाकर्मीले आवतजावतमा रोक लगाएका थिए। निषेधित क्षेत्र तोड्दै शव यात्रालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयतर्फ लैजान खोजिएपछि सुरक्षाकर्मीले रोक्ने क्रममा झडप भएको हो। आन्दोलनरत पक्षले जबर्जस्ती गर्न थालेपछि दुई पक्षबीच झडप भएको सुरक्षा स्रोतले बतायो। त्यस क्रममा सुरक्षाकर्मीले अश्रुग्यास र लाट्ठी प्रहार गरेका छन्। अहिले विराटनगरको रोडशेष क्षेत्र तनावग्रस्त छ।