ओखढुंगा । ओखलढुङ्गामा यस वर्षको डढेलोले करिब एक हजार हेक्टर वन डढेको छ । यस वर्षको हिउँदको समयमा जिल्लाका विभिन्न ठाउँमा लागेको डढेलोबाट करिब एक हजार हेक्टर वन नष्ट भएको हो । जिल्लामा हिउँदयाम लागेसँगै भएका डढेलोका घटनाबाट नौ सय २५ हेक्टरभन्दा बढी जङ्गलमा क्षति भएको विवरण प्राप्त भएको र थप विवरण आउनेक्रम जारी रहेकाले करिब एक हजार हेक्टरमा क्षति पुगेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत सत्यनारायण यादवले बताए ।
जिल्लाका छ सब डिभिजन वन कार्यालयअन्तर्गतका जङ्गलमा लागेको आगोका कारण वन्यजन्तु, काठपात, घाँस, बुट्यान, जडीबुटीलगायत क्षति पुग्दा लाखौँको क्षति भएको उनको भनाइ छ ।
“स्थानीयका अनुसार नयाँ घाँस पलाउने आशा र हेलचेक्र्याइँले वनमा आगो लगाएको पाइन्छ, तर त्यो आगो लगाउने व्यक्तिको पहिचान नहुँदा कारबाहीको दायरामा ल्याउन सकिन्न, यस वर्ष पनि करिब नौ सय २५ त हाम्रो तथ्याङ्कले देखाउँछ, केही विवरण छुटेको हुनसक्छ त्योसमेत गर्दा हजार हेक्टर वन डढ्यो”, उनले भने, “आगलागीका घटना न्यूनीकरण गर्न अपिल गर्दागर्दै पनि गाउँगाउँका वनमा आगो लगाउने क्रम रोकिएन, त्यसरी वनमा आगो लगाउने व्यक्तिको पहिचान भएका खण्डमा कडा कानुनी कारवाही गर्छौं ।”
आगलागी सुरु हुनासाथ नियन्त्रणको प्रयास गरिए पनि कतिपय वनमा लागेको आगो एक सातासम्म नियन्त्रणमा आउन नसक्दा ठूलो क्षति भएको उनको भनाइ छ ।
ओखलढुङ्गामा एक हजार हेक्टर वनमा डढेलो
ओखलढुङ्गामा यस वर्षको डढेलोले करिब एक हजार हेक्टर वन डढेको छ ।

