भक्तपुर । भक्तपुर घुम्ने विदेशी पर्यटकको संख्या क्रमशः बढ्दै गएको छ । नयाँ वर्ष २०८० को पहिलो दिन भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटकहरू भरिभराउ भएका थिए ।
आर्थिक वर्ष २०७९/८० को साउनदेखि चैत्रसम्म (९ महिना अवधि) मा जम्मा १ लाख १६ हजार ८ सय १२ जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेका छन् । जसमा ६७ हजार ७ सय जना गैर सार्क र ४९ हजार १ सय १२ जना (सार्क राष्ट्र र चीनका पर्यटकहरू) रहेका छन् ।
गत आ.व.को तुलनामा ९ महिनाको अवधिमा ९३,६४५ जना (गैर सार्क ५६,२६० जना र सार्क राष्ट्र र चीनका पर्यटकबाट ३७,३८५ जना) पर्यटकको आगमन वृद्धि र ११ करोड १४ लाख ३१ हजार पाँच सय रुपैयाँ बरबरको पर्यटन शुल्क वृद्धि भएको हो ।
यो आर्थिक वर्षमा पर्यटन शुल्कबाट १३ करोड ४४ लाख ५५ हजार रुपैयाँ सङ्कलन भएको छ । जसमा गैर सार्क पर्यटकबाट १० करोड ९८ लाख ९९ हजार र सार्क राष्ट्र र चीनका पर्यटकबाट २ करोड ४५ लाख ५६ हजार पर्यटन शुल्क उठेको छ ।
गत आर्थिक वर्ष २०७८।७९ को तथ्याङ्क हेर्ने हो भने साउनदेखि चैत्रसम्मको अवधिमा जम्मा २३ हजार १ सय ६७ जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेका थिए । जसमा गैर सार्कअन्तर्गत ११ हजार ४ सय ४० जना र सार्क राष्ट्र र चीनका ११ हजार ७ सय २७ जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेको तथ्याङ्क छ । आ।व। २०७८।७९ मा जम्मा २ करोड ३० लाख २३ हजार ५ सय रुपैयाँ पर्यटन शुल्क उठेको थियो ।
भक्तपुर नगरपालिकाले १ जनवरी २०२३ बाट डलरको विदेशी विनिमय दरसँग समायोजन गर्न गैर सार्क पर्यटकहरूसँग ५०० लाई एक हजार ८०० कायम गरी शुल्क सङ्कलन गर्दै आएको हो । भक्तपुर नगरपालिकाले पर्यटकहरूबाट उठेको शुल्कबाटै भक्तपुरको सम्पदाहरू संरक्षण, शिक्षा, स्वास्थ्य, सरसफाइ, विकास निर्माणजस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्दै आएको छ ।
भक्तपुर नगर पालीकामा हाल दैनिक ५।६ सयको हाराहारीमा विदेशी पर्यटकहरू भक्तपुरका ऐतिहासिक सम्पदा क्षेत्र अवलोकन गर्न आएको तथ्याङ्कले देखाउँछ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीले पर्यटन क्षेत्रमा नराम्रोसँग असर पारेकोमा हाल भने विदेशीहरूको आगमनसँगै अब आशा पलाएको छ ।
भक्तपुरमा पर्यटकको चहलपहल बढ्दै
भक्तपुर घुम्ने विदेशी पर्यटकको संख्या क्रमशः बढ्दै गएको छ । नयाँ वर्ष २०८० को पहिलो दिन भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटकहरू भरिभराउ भएका थिए ।

